झापा, पुष ३ ।दमक नगरपालिका वडा नम्बर ५ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई आइतवारबाट धनीपुर्जाको निस्सा वितरण सुरु गरिएको छ ।

स्थानीय जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको कार्यालय परिसरमा कार्यक्रम गरी दमक नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराईसहितले वडाभित्र रहेका भूमिहीनहरुलाई धनीपुर्जाको निस्सा वितरण गरेका हुन् ।

दमक वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताका कारण निस्सा वितरणमा केहि ढिलाइ भएको भन्दै अब निरन्तर प्रक्रियामा लगेर चाँडै नै धनीपुर्जा समेत वितरण गरिने बताए ।

आफूहरु निर्वाचित भएर आएदेखि नै पहिलो प्राथमिकतामा राखेर भूमिहीनलाई धनीपुर्जा उपलब्ध गराउने काममा लागेको उनले बताए । कार्यक्रममा नगर उपप्रमुख भट्टराईले भूमिहीनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफूहरु लागिपरेको बताइन् । उनले प्राप्त निवेदनका आधारमा छानविन गरेर चाँडै धनीपुर्जा वितरण कार्य समेत सुरु गर्ने जनाइन् । वडाभित्र हालसम्म दर्ता भएका २७५ जना भूमिहीनलाई आइतवारबाट निस्सा वितरण सुरु गरिएको वडा सदस्य ख्यामकुमारी परियार सरुले जानकारी दिइन् । आइतवारदेखि निस्सा वितरण सुरु भएको भन्दै उनले आइतवार निस्सा नपाएकाहरुलाई वडा कार्यालयबाट निरन्तर वितरणको काम हुने बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्