दमक, पुष ३ । दमक नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयका छात्राहरुलाई किशोरी हिंसाविरुद्ध आत्मरक्षा तालिम दिन थालेको छ ।

उक्त कार्यक्रमअन्तर्गत पहिलो पटक दमक ४ स्थित कृष्ण माध्यमिक विद्यालयका छात्राहरुलाई तालिम दिन थालिएको छ ।

तालिमको दमक नगर प्रमुख राम थापाले आइतवार एक कार्यक्रमका बीच शुभारम्भ गरे । तालिम शुभारम्भ गर्दै नगर प्रमुख थापाले किशोरीहरुलाई सुरक्षित गराउन पनि तालिम प्रभावकारी बन्ने बताए । कार्यक्रमकी अध्यक्ष दमक नगर उपप्रमुख रेगिना भट्टराईले किशोरीहरुलाई आत्मविश्वास बढाउनका साथै व्यक्तित्व विकासको लागि पनि तालिम फलदायी बन्ने विश्वास व्यक्त गरिन् । उनले यस्तो कार्यक्रम दमकका सबै सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिने बताइन् ।

आइतवार सुरु भएको पाँच दिने तालिम ७ गतेसम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक करण धिमालले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक प्रकाश बस्नेतले दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म विद्यालयका करिब २५ जना छात्राहरुलाई प्रशिक्षण दिने बताईएको छ ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शारदा सापकोटा, सामाजिक अगुवाहरु राजेन्द्र भट्टराई, राजेन्द्र सिटौलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्