झापा , पुष ५ । जंगली हात्तीका कारण बाह्रदशी १ का ३७ वर्षिय जगतबहादुर भुजेलको लाश अझैसम्म उठाउन सकिएको छैन ।

आज दिउँसो ४.२० बजे कचनकवल गाउँपालिका वडा नं.१ स्थित पश्चिम देउराली चारकोसे सामुदायिक वनमा घाँस दाउरा गरी फर्केने क्रममा भुजेललाई वनसंग जोडिएको यज्ञ ओलीको खेतबारीमा सोही सामुदायिक वनबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । वरपर ३–४ वटाको संख्यामा हात्ती भएका कारण लाश उठाउन जान नसकिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए । ‘छेउछाउमा ३–४ वटाको संख्यामा हात्ती भएका कारण लाश भएको ठाउँमा जान सकिएको छैन’उनले भने ‘हात्ती धपाउने प्रयास भइरहेको छ ।’

साइरन बजाएर हात्ती धपाउन बन डिभिजन कार्यालयलाई आग्रह गरिएको उनले जानकारी दिए । अप्ठ्यारो ठाउँमा घटना भएकाले जान समस्या रहेको डीएसपी पाठकले बताए । यसैबीच राति ९ बजेतिर भुजेलको लाशलाई उठाएर केही पर सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए । तर, सर्जमिन मुचुल्का गर्ने काम मंगलवार गर्न सकिएको छैन । झापामा यस वर्षको ९ महिनामा हात्तीको आक्रमणमा परी चारजनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्