झापा, पुष ७ । राष्ट्रिय सहकारी बैंकको प्रदेश नं १ को संचालकमा महेन्द्र गिरी सर्वसम्मत भएका छन् ।

प्रदेश नं १ बाट संचालकका लागि बुधबार गिरी र कृष्ण दाहालको उम्मेदवारी परेकोमा बिहीबार दाहालले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत निर्वाचित भएको निर्वाचन उपसमितिका सदस्य रामशरण शर्मा घिमिरेले जानकारी दिए ।

यसअघि अध्यक्षमा केबी उप्रेती तथा गण्डकी प्रदेश संचालकमा रामबहादुर जिसी र मधेश प्रदेश संचालकमा विश्वनाथ मण्डलको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भइसकेका छन् । यस्तै योग्यता नपुगेको भन्दै लेखा समिति संयोजक राजु पुरीको उम्मेदवारी खारेज भएपछि लक्ष्मीप्रसाद उप्रेती पनि निर्विरोध बनेका छन् ।

अब प्रदेश संचालकमध्ये बागमतीमा ५ जना र कर्णालीमा ३ जनाको उम्मेदवारी रहेको छ । महिलाका लागि छुट्याइएको लुम्बिनी र सुदूरपश्चिम प्रदेश संचालकमा पनि ४ जनाको उम्मेदवारी रहेको छ ।

यसैगरी खुल्ला सदस्य ४ जनाको लागि ३३ जनाको उम्मेदवारी परेकोमा युगेश पौडेलको खारेज भएसँगै ३२ जना बाँकी छन् । महिला खुल्ला ३ पदका लागि ७ जनाको उम्मेदवारी रहेकोमा विमला शाहाको पनि खारेज भएपछि ६ जना बाँकी रहेका छन् । यस्तै लेखा समिति सदस्यमा ५ जना र महिला सदस्यमा ३ जनाको उम्मेदवारी रहेको जनाइएको छ । निर्वाचन उपसमितिले उम्मेदवारी फिर्ता लिनका लागि विहिबार ५ बजेसम्म समय दिएको थियो । बैंकको १९ औं वार्षिक साधारणसभा पुष १६ गते हँुदैछ । सातवटै प्रदेशमा हुन लागेको वार्षिक साधारणसभामार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रमअन्तर्गत पुष ६ गते उम्मेदवारी दर्ताको मिति तोकिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्