इलाम, पुष ७ । इलाममा २ जना बालबालिकासहित एचआईभीको नियमित औषधि सेवनकर्ताको संख्या ७५ पुगेको छ ।

गत बर्षभन्दा १३ जनाको संख्या यस बर्ष थप भएको हो । इलाम नगरपालिका वडा नं. ७ को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा लबकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले सो जानकारी दिईन् । इलाम जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने मानिसहरु र अबैध लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभी फैलिएको पाईएको उनले बताइन् ।
रोजगारीकै मुख्य कारणले इलाममा एचआईभी संक्रमितको तथ्यांकमा बृद्धि भएको लबकुशको तथ्यांकमा उल्लेख छ । उनले इलाम कन्यामका होटलमा एचआईभी भएकाहरु कार्यरत भएको पाइएको र उनीहरुको उद्धार गरिएको जानकारी दिईन् । आफूलाई एचआईभीको आशंका भएमा चेकजाँचका लागि इलामको फुलगाछीमा रहेको लवकुश आश्रममा सम्पर्क गर्न उनले अनुरोध गरिन् । विगत ३३ बर्षदेखि शर्मा आफै एचआईभीसँग बाँचिरहेकी अभियन्ता हुन् ।
इलाम नगरपालिका वडा नं. ७ को कार्यालयले सो वडामा भएका एचआईभी संक्रमितसँग जीवन विताईरहेकाहरुलाई सहयोग गर्न र समुदायमा सचेतना फैल्याउने हेतुले सो कार्यक्रमको आयोजना गरेको थियो । इलाम नगरपालिका वडा नं. ७ मा मात्र ६ जनाले नियमित औषधि प्रयोग गरिरहेको जानकारी कार्यक्रममा गराईएको थियो । इलाम जिल्लाका एचआईभीसँग बाँचिरहेका मानिसहरु इलामबाहेक, झापा, धरान, काठमाण्डौ तथा भारतका अन्य शहरहरुबाट औषधि लिने भएकाले जिल्लाको सही तथ्यांक नआउने लवकुशकी अध्यक्ष शर्माले जानकारी दिईन् । इलाममा नियमित औषधि प्रयोगकर्ताहरु इलाम, पाँचथर र ताप्लेजुङका छन् । इलामकै मात्र औषधि प्रयोगकर्ताको संख्या भने ३५ रहेको छ । वडाध्यक्ष नरेश श्रेष्ठले इलाममा एचआईभीको वर्तमान अवस्था बुझ्दै भावी दिनमा वडाले एचआईभी फैलिनबाट रोक्न पूर्वतयारीको रुपमा कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा वडाका निर्वाचित जनप्रतिनिधिहरु, स्थानीय सरोकारवाला तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । एचआईभीको औषधि निःशुल्क रुपमा इलाम अस्पतालको एआरटीबाट प्राप्त गर्न सहयोग गर्ने, एचआईभी भएकाको परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने, पुनस्र्थापनाका कार्यक्रम तथा स्वरोजगार बनाउने, नियमित औषधि सेवन गर्नलाई उत्प्रेरणा गर्ने काम लबकुशले गरिरहेको छ ।