झापा, पुष ८ । आफ्नै जेठाजुको विभत्स हत्या गर्ने झापा कनकाई नगरपालिका ४ इलुवाबारीकी ४८ बर्षिया रनमाया बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा कनकाई नगरपालिका ४ इलुवाबारीका ५५ बर्षिय पदमलाल बास्तोलाको टाउकोमा धारिलो हतियार प्रहार गरी शिवसताक्षी नगरपालिका १० सगरमाथा टोलस्थित माई नदीको किनारमा हत्या गरी फ्याकिएको अवस्थामा शव फेला परेको थियो । बिहीबार बेलुकी ५ बजेको समयमा गाईवस्तु चराउन गएका स्थानीयले बास्तोलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । विभत्स हत्याको खबर पाउनसाथ अनुसन्धानमा जुटेको इलाका प्रहरी कार्यालय झिलझिले, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गा र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली अनुसन्धानमा जुटेको थियो । शव फेला परेको १२ घण्टा नवित्दै प्रहरीले हत्यामा संलग्न बुहारी र हतियार फेला पारेको हो ।

मृतक बास्तोला र बुहारी रनमाया बुधवार दिउँसो २ बजेबाट घरबाट काँस काट्न जाने भनी संगै कनकाई बगरमा गएका थिए । घाँस काटेर बुहारीमात्रै घर फर्किएकी थिइन् । हराएको एक दिनपछि बास्तोलाको शव अनुहार नचिनिने अवस्थामा काँसघारीभित्र फेला परेको थियो । बास्तोलाको हत्यामा प्रयोग गरिएको हसिया र कुटोसहित रनमायालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।हत्यामा संग्लन रनमायाले आफूले हत्या गरेको स्वीकार गरेकी छिन् । उनले आफूलाई बलात्कार गर्न खोजेकाले प्रतिकार गर्दा मृत्यु भएको प्रहरीसामु बयान दिएकी छिन् । कमजोर आर्थिक अवस्थाका बास्तोला परिवार अर्काको घरमा बसेर अधिया खेती गर्दै आएका थिए ।

मृतक बास्तोलाको शवको छेउमा १० मुठाजति काटेर बिटा बनाएको काँस समेत फेला परेको छ । मृतक बास्तोलाको २ छोरा, १ छोरी र श्रीमती रहेका छन् । उनीहरु सबैजना भारतको आसाममा बस्दै आएका छन् । मृतक वास्तोला भने झापा कनकाईमा भाइ बुहारीको साथमा विगत एक बर्षदेखि रहदै आएका थिए । प्रहरीले हत्यामा संलग्न रनमायालाई उनले हत्यामा प्रयोग गरेको हसिया र कुटोसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्