झापा, पुष ८ । झापाको हल्दिबारी गाउँपालिकामा हल्दिबारी आधारभूत अस्पताल संचालनमा आएको छ ।

शुक्रवार एक कार्यक्रमका बीच झापा क्षेत्र नं. ३ का नवनिर्वाचित सांसद तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारी आधारभूत अस्पतालको उद्घाटन गरे । १५ वेड क्षमताको आधारभूत अस्पताल हल्दिबारी गाउँपालिकाको कार्यालयसंगै रहेको छ ।

अस्पतालमा दैनिक ओपिडि सेवा १० बजेदेखि ३ बजेसम्म,आकस्मिक सेवा ,प्रयोगशाला सेवा,स्वास्थ्य वीमा सेवा तथा फार्मेसी सेवा, आधारभूत स्वास्थ्य सेवाका सबै सेवाहरु उपलव्ध रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले बताए । उनले एक्सरे ,युएसजीलगायतका सेवाहरू पूर्वाधार पुरा गरि थप गरिदै लगिने जानकारी दिए ।हल्दिबारी गाउँपालिकाको सभाहललाई पार्टिसन गरी अस्थायी रुपमा अस्पताल संचालनमा ल्याइएको हो ।

प्रत्येक पालिकामा कम्तिमा एउटा आधारभूत अस्पताल संचालन गर्ने र हल्दिबारी गाउँपालिकामा रहेका करिव ३३ हजार नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने नीतिअनुरूप हल्दिबारी गाउँपालिकाअन्तर्गत वडा नं. १ मा अस्पताल भवन निर्माण भइरहेको र निर्माण कार्य सम्पन्न गर्न केहि समय लाग्ने भएकाले अस्पतालको भवन निर्माण कार्य पुरा नहुन्जेलसम्मको लागि गाउँपालिकाको सभाहललाई पार्टिसन गरि अस्थायी रुपमा अस्पताल संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख निरौलाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि राप्रपा अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ का सांसद लिङ्देन, प्रदेश सभा (२) का प्रदेशसभा सदस्य छविलाल चुँडाल, गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलगायतले शुभकामना मन्तव्य राखेका थिए । हल्दिवारी गाउँपालिकाअन्तर्गत ५ वटा वडामा ३ वटा स्वास्थ्य चौकी र २ वटा आधारभूत स्वास्थ्य केन्द्र संचालन रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्