झापा ,पुष ९ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी झापाकी इन्दिरा राना मगरले आफूले सामाजिक न्यायका मुद्धाहरुलाई संसदमा प्राथमिकताका साथ उठाउने बताएकी छन् ।

पार्टीका तर्फबाट समानुपातिक सांसदमा निर्वाचित भएपछि मतदाताहरुलाई धन्यवाद दिन शनिवार अर्जुनधारामा आयोजित कार्यक्रममा बोल्दै उनले यतिका वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकोमा अब सांसद भइसकेपछि त्यसलाई पोलिसी लेभलमा प्राथमिकताका साथ उठाउने बताइन् । कैदीबन्दीका छोराछोरीका लागि सक्रिय भएर काम गर्दै आएकी बन्दी सहायता नेपालकी अध्यक्ष समेत रहेकी राना मगरले बाल अधिकारका पक्षमा आवाज उठेपनि बाल संरक्षणको मुद्धा ओझेलमा परेको बताइन् ।

उनले कैदीबन्दीलाई दिइदै आएको ५० रुपैयाँ र उनीहरुका छोराछोरीलाई दिइने ३० रुपैयाँ भत्ता बढाउनु पर्ने भन्दै विद्यार्थीहरुलाई पोषणवापत दिइने १५ रुपैयाँ भत्ता पनि पर्याप्त नभएको धारणा राखिन् । ‘ विद्यार्थीहरुलाई दिइने पोषण भत्ता बढाइनु पर्छ ’उनले भनिन् ‘ कक्षा ५ सम्म नभएर १० सम्मका विद्यार्थीहरुलाई पोषणको व्यवस्था गरिनु पर्छ ।’ सरकारले अपांग र युनिक समलिङ्गीहरुलाई खुल्लामा राखेकोमा आपत्ति जनाउँदै उनीहरुको मुद्धालाई पनि आफूले जोडतोडका साथ संसदमा उठाउने सांसद राना मगरको भनाई थियो ।

शपथ ग्रहण गर्न संसद भवनमा पहिलो पटक प्रवेश गर्दा आफूलाई अनौठो र अप्ठ्यारो लागेको उनले अनुभव सुनाइन् । विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेला गर्नेहरु पहिलो पटक संसद भवनमा २० जना सांसदहरु एक भएर प्रवेश गर्दा छक्क परेको बताइन् । ‘ मलाई संसद भवनमा प्रवेश गर्दा के के भएजस्तो अनौठो र अप्ठ्यारो लाग्यो ’ उनले भनिन् ‘ सामाजिक क्षेत्रमा काम गरिरहँदा मलाई राजनीतिमा प्रवेश नगर्न सल्लाह दिनेहरु अहिले राम्रै निर्णय गरेको भनेर भन्न थालेका छन् ।’ नेपालका बालबालिकाले एउटा रोटी खान नपाइरहेको , स्वच्छ खानेपानी पिउन नपाइरहेको अवस्थामा ठूलठूला भवन बन्दैमा देश समृद्ध नबन्ने उनको धारणा थियो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष उमेश खरेलले पनि झापाका मतदाताहरुलाई धन्यवाद दिएका थिए । झापामा आफ्नो पार्टीले ७७ हजारभन्दा बढी समानुपातिक मत ल्याएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्