बिर्तामोड, पुष ९ । बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समितिले २६ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

त्यस अवसरमा कोल्डरुम उद्घाटन , रक्तदान , सम्मानलगायतका कार्यक्रम गरिएको हो । १ नं प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले कोल्डरुमको उद्घाटन गरे । प्रदेश सरकार कृषि मन्त्रालयको १ करोड ६३ लाख ६१ हजार ६२७ र कृषि बजार व्यवस्थापन समितिको ५४ लाख ५३ हजार ८७५ गरी कूल २ करोड १८ लाख १५ हजार ५०३ रुपैयाँको लागतमा सो कोल्डरुम निर्माण गरिएको हो । कोल्डरुममा प्रदेश सरकार कृषि मन्त्रालयको ७५ प्रतिशत र बजार व्यवस्थापन समितिको २५ प्रतिशत लगानी रहेको हो ।

कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सचिव मेघनाथ तिम्सिना , कृषि बजारका संस्थापक हर्कलाल गिरी , सल्लाहकार लोकबन्धु कन्दङ्वा ,नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिका सल्लाहकार गोपिचन्द्र गिरी , बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ, कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिका पुरानो कर्मचारी काशीनाथ अधिकारी ,उत्कृष्ट व्यवसायी चन्द्रबहादुर कट्वाल , बृद्ध व्यवसायी जयलाल राजवंशी , एकल महिला व्यवसायी तिला भण्डारीलाई सम्मान गरिएको थियो । त्यस्तै बजार व्यवस्थापन समितिका कर्मचारी मेखबहादुर राईलाई विदाई गरिएको थियो । सोही अवसरमा कोल्डरुम निर्माणमा सहयोग गर्ने कृषि सचिव मेघनाथ तिम्सिना , मन्त्रालयकै अभिमन्यु अधिकारी ,डा. दिपा दियाली , पशुपति पोखरेल र विमला पोखरेललाई पनि सम्मान गरिएको थियो ।

बजार व्यवस्थापन समितिका सदस्य बृन्दा लुइटेलले स्वागत गरेको कार्यक्रमको संचालन सदस्य पुष्पा दाहालले गरेकी थिइन् । निर्माण सम्पन्न भएको कोल्डरुमका बारेमा सदस्य खगेन्द्र महत्तोले प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्