झापा , पुष १० । खोटाङको बुइपाबाट दिक्तेलतर्फ आउँदै गरेको बस माथिल्लो बुइपामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस आइतबार बिहान पौने ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ बुइपाका २९ वर्षीय वीरेन्द्र घिमिरे, सोही ठाउँका २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेसी गाउँपालिका-२ खार्पाका २० वर्षीय कुशल सार्की दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कका ७३ वर्षीय आइते सार्की, सोही ठाउँका २७ वर्षीया सुस्मिता ढुङ्गाना र हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीकी १६ वर्षीया रेणुका भुजेल घाइते भएका हुन् । तीमध्ये रेणुका भुजेल, वीरेन्द्र घिमिरे र दिलकुमारी श्रेष्ठलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत् काठमाडौं लगिएको छ । भुजेल गर्भवती रहेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए । उनीहरुमध्ये घिमिरेको महाराजगन्जस्थित टिचिङ हस्पिटलमा र भुजेल र श्रेष्ठको चाबहिलको हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार भइरहेको मुकारुङले बताए । उनीहरुको स्वास्थ्य अवस्था जोखिम नभएको मुकारुङको भनाइ छ । अन्यको दिक्तेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था समान्य नै रहेको डीएसपी मुकारुङले बताए । दुर्घटनापछि चालक र सहचालक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । के कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्