झापा , पुष ११ । इलाम नगरपालिकाले विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाउन शुरु गरेको छ ।

ग्रामीण क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ प्राविधिक शिक्षा अध्ययनमा सहयोग गरेको नगर प्रमुख केदार थापाले बताए । इलाम नगरपालिकाले नगर क्षेत्रका २४ जना विद्यार्थीलाई अध्ययन गराउने योजना भएपनि पहिलो चरणमा १४ विद्यार्थी छनोट भएका छन् । निःशुल्क अध्ययन गर्न आवश्यक शुल्क नगरपालिकाले सिधै प्राविधिक शिक्षालयमा भुक्तानी गर्ने प्रमुख प्रशासकिय अधिकृत गणेशकुमार खड्काले बताए । निःशुल्क अध्ययन गर्न छनोट भएकामध्ये सिभिल इञ्जिनियरमा ४ जना , वन विज्ञानमा ३ जना, पशु विज्ञान १, फार्मेसीमा ४ जना र बालिविज्ञामा २ जना छन् । विद्यार्थीले नगरपालिकाको लगानीलाई सदुपयोग गर्नुपर्ने नगर उप-प्रमुख विष्णु दाहालले बताइन् । प्राविधिक शिक्षा निःशुल्क अध्ययनको काम इलामको साखेजुङस्थित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयमा हुँदै आएको छ । नगरपालिकाले प्राविधिक विषय अध्ययन गर्ने १४ विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था पछि उनीहरूले कम्तीमा १ वर्ष नगरपालिकामा सेवा गर्नु पर्नेछ । विद्यार्थीलाई नगरले इलाम नगरपालिका १ मा रहेको रत्नकुमार बहुप्राविधिक शिक्षालयमा छात्रावृत्तिको व्यवस्था गरी यो सुविधा दिएको हो । नगरका १२ वटा वडाबाट दुईजनाका दरले २४ जना विद्यार्थीको कोटा रहे पनि १४ जना विद्यार्थी मात्र उत्तीणर् भएका छन् । विद्यार्थीलाई निःशुल्क अध्ययनका लागि नगरले यो वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्