भद्रपुर, पुष ११ । बन्दी विकास पुस्तकालय झापाका सचिव रमेश पोखरेलले फिराद पत्र , बहस पैरवी , जाहेरीलगायतका आधारमा अदालतले गर्ने फैसला निष्पक्ष नहुँदा देशका कारागारहरुमा कैदीबन्दीको संख्यामा अत्यधिक बृद्धि हुँदै गएको बताएका छन् ।

नेपाल बार एशोसिएसन झापाद्वारा जिल्ला कारागारको सभाहलमा सोमवार आयोजित थुनुवाहरुसंगको एकदिने अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै सचिव पोखरेलले पीडितको वयानलाई मुख्य प्रमाणको रुपमा अदालतले मान्यता नदिएसम्म निर्दोष मानिसले कैदी जीवन बिताउन बाध्य हुनु परेको बताए ।

पोखरेलले एउटै मुद्धामा फरक फरक फैसला हुने हुँदा र अदालतले निष्पक्ष फैसला नगर्दा जनमानसमा अदालतप्रतिको बिश्वास गुम्दै गएको बताए ।
कुनै पनि राजनीति आग्रह , पूर्वाग्रहमा प्रतिशोधका आधारमा फैसला गर्दा निर्दोष मानिसले कैदी जीवन विताउन वाध्य हुनु परेको उनको भनाई छ । अदालतले ठूला बडाको मुुद्धाहरु तुरुन्त फैसला गर्ने गरेपनि सर्वसाधारणको मुद्धामा भने बर्षौ झुलाउने गरेको पोखरेलको भनाई छ । कार्यक्रममा कैदीबन्दीहरु निलबहादुर दर्जी, नवराज श्रेष्ठ, अमरकान्त झा, अनु श्रेष्ठलगायतले अदालतले आफूहरुलाई समयमा मुद्धाको पेशी नदिएर कारागारमा थुनिराखेको गुनासो गरेका थिए ।

कानुनी जटिलताका बिषयमा बन्दीहरुले उठाएका जिज्ञासाको जवाफ एशोसिएसन सचिव हेमकला कट्टेल, प्रशिक्षक खगेन्द्र खरेल, सहजकर्ता चुडामणी पराजुली, नारायणप्रसाद पौडेललगायतले दिएका थिए। सो अवसरमा मुलुकी ऐनको आचारसंहिता समेटिएको नेपाल ऐन संग्रह नामक पुस्तक पुस्तकालय प्रमुख लयप्रसाद सिवाकोटी र महिला कारागार प्रमुखलाई हस्तान्तरण गरिएको थियो ।
बार एशोसिएसनकी सचिव कट्टेलको अध्यक्षता तथा सह–सचिव देवीमाया निरौला अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा कारगारका कैदीबन्दीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रशिक्षक खगेन्द्र खरेलले प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्