बिर्तामोड , पुष १२ । मकैको खोस्टाबाट फूल बनाउने १५ दिने व्यवसायिक तालिम बिर्तामोडमा आजदेखि शुरु भएको छ ।

उद्योग वाणिज्य तथा आपूृर्ति मन्त्रालयको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजना तथा चेम्बर अफ कमर्स झापाको सह-आयोजनामा सो तालिम शुरु भएको हो । तालिममा ३५ जना महिलाहरुको सहभागिता रहेको छ ।

सरकारले प्लाष्टिकका फूलमा प्रतिवन्ध लगाएपछि त्यसको विकल्पमा मकैको खोस्टाको फूलको माग अत्यधिक बढेको तालिमकी प्रशिक्षक तारा थापाले बताइन् । दुई वर्षअघि दमकमा मकैको खोस्टाको फूल बनाउने तालिम दिइएको थियो । तालिम लिएका केही महिलाहरुले त्यसलाई व्यवसायको रुपमा संचालन गर्दै आएको सहआयोजक चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमलीले बताए । उनले हरेक विवाह , जन्मदिन, पार्टीलगायतका कार्यक्रमसंगै घरमा सजावटका लागि फूलको महत्व बढ्दै गएकाले व्यवसायको रुपमा गर्न सकिने संभावना देखेर सो तालिम आयोजना गरिएको जानकारी दिए ।

तालिममा सह प्रशिक्षकको रुपमा रानु शाहा रहेकी छन् । एक साता फूल र अर्को साता फूल राख्ने ढाकी बनाउने तालिम प्रदान गरिने भएको छ । ढाकी बाँसको चोयाबाट निर्माण गरिने छ । चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमलीको अध्यक्षतामा भएको कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका महानिर्देशक शरदविक्रम राणाले तालिमको उद्घाटन गरेका थिए । कार्यक्रममा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल , नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, मेची चेम्बर अफ कमर्सकी अध्यक्ष रुकमणि आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चेम्बर अफ कमर्सका उपाध्यक्ष याम विमलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव प्रदीप खरेलले गरेका थिए ।



