झापा , पुष १३ । सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा जान थालेका छन् ।

पर्यटकीय सिजन चलिरहँदा पर्यटकले खचाखच भरिएको खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साईट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेको हो । पर्यटकीय सिजनमा व्यस्त हुने होटल पसल व्यवसायीहरु पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिएको स्थानीय दामु शेर्पाले बताइन् । अधिकांश व्यवसायी तथा स्थानीयहरु बाहिरिएसँगै खुम्बुक्षेत्र सुनसान बनेको लुक्ला स्थानीय तोया श्रेष्ठले बताए । जाडो सुरु भएसँगै जिल्लाको खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङला, एवम् थामे लगायतका बासिन्दा जाडो छल्न बाहिर गइसेका छन् । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतका ठाउँहरुमा पनि अहिले पर्यटकको चहलपहलबिना सुनसान बनेको छ । केही होटल पसल खुल्ला भए पनि व्यवसायीहरुको जनजीवन कष्टकर बन्दै गएको छ । सिजनको बेला दैनिक १०० ओटा सम्म हवाई उडान हुने लुक्लामा अहिले दैनिक ५-६ उडान हुने गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्