झापा, पुष १३ । ओखलढुंगाका स्थानीय तहले मलको मूल्य मनपरि तोकेका छन् ।

त्यसरी तोकिएको मूल्यमा पनि किसानले मल पाएका छैनन्। यसरी कुनै मापदण्डविनै मूल्य तोक्ने स्थानीय तहमा मानेभञ्ज्याङ गाउँपालिका अगाडि छ। मल खरिद गरेका पालिकामध्येकै महंगो मूल्य राखेर आपूर्तिकता छनौट गरेको छ। ढुवानीका हिसाबले मानेभञ्ज्याङ जिल्लाकै सबैभन्दा सुगम पालिका हो। यसले युरिया मलको प्रतिबोरा मूल्य १ हजार ३१० रुपैयाँ तोकेको छ । यो पालिकाबाट २६ किलोमिटर टाढा रहेको सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकाले १ हजार २०० तोकेको छ भने मानेभञ्ज्याङदेखि ५२ किलोमिटर टाढा ढुवानी गरेर लानुपर्ने प्राप्चासम्मका लागि मोलुङ गाउँपालिकाले १ हजार २०२ रुपैयाँ तोकेको छ । टाढा ढुवानी गर्ने पालिकाको दर र नजिक रहेको पालिकाको दरमा फरक मात्रै होइन किसानलाई सहज रूपमा मल उपलब्ध पनि भएको छैन। भएको मल पनि वडाध्यक्षको कोटा र किसानका नाममा बिचौलियाले लिएर मनलाग्दी मूल्य असुलिरहेका छन् । यसबारे स्थानीय सरकार मौन छन्।

मोलुङले तोकेको मूल्यभन्दा बढी नलिन लिएको भएमा फिर्ता गर्न निर्देशन दिएको गाउँपालिकाले जनाएको छ। त्यहाँ पनि तोकिएभन्दा बढी मूल्यमा बेचेको गुनासो थियो। सिद्धिचरण नगरपालिकाले १ हजार २०० प्रतिबोरा युरियाको मूल्य तोकेपनि विगुटारका किसानले वडाबाट १ हजार ४ सय रुपैयाँ तिरेर मल लगेका छन्। २ सय बढी वडाले असुलेको छ। विगुटारका किसान डिल्ली दाहालले १ हजार ४ सयमा वडाबाट मल ल्याएको बताए। उनले भने ’वडा अध्यक्षले पहल गरेर गाउँमै मल दिनुभएको छ, अझै थप उहाँको कोटाबाट पनि दिने भन्नुभएको छ।’ युरियाबाहेक डिएपी र पोटासको मूल्य पनि तीन तहमा तिनै किसिमको मात्रै छैन प्रतिबोरा २ सय देखि ५ सयसम्म बढी मूल्य तिरेर किसानले मल किनेका छन्। उनीहरूले बढी मूल्य तिरेपनि भनेको समयमा मल नपाएको गुनासो छ। जिल्लाकै महंगो मूल्य तोकेको मानेभञ्ज्याङ गाउँपालिकाले वषौंदेखि एउटै सहकारीलाई आपूर्तिकर्ता बनाएको छ। सहकारी र जनप्रतिनिधिको मिलेमतोमा यस्तो भएको गाउँपालिकाकै कर्मचारी बताउँछन्। उनले नाम उल्लेख नगर्ने शर्तमा भने ’माथिल्लो तहका कर्मचारी र पालिका प्रमुखहरूबीच अहिले पालिकामा चाहिने सामान कस्ले खरिद गर्ने र कमिसन लिने भन्ने प्रतिस्पर्धा जस्तो छ, त्यहाँ पनि त्यही भएको होला।’ मलको मूल्यका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले मलको मूल्य र आपूर्तिकर्ताबीच आफूलाई जानकारी नभएको बताए । उनले पालिकाका अध्यक्ष र जनप्रतिनिधिहरूसँग सोध्नु भन्दै पन्छिए । आपूर्तिकताका रूपमा चयन भएको नवयुग प्रगतिशील सहकारीका युवराज राईले भने पालिकाले तोकेको दरमा मल ल्याएको र सोही दरमा बेचेको बताए। ’किसानहरूले किनेर बिचैमा बेचेर बढी मूल्य लिएको हुनसक्छ तर हामीले तोकेभन्दा एक रुपैयाँ बढी मूल्य लिएको छैन’ उनले भने। पालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले मलका विषयमा उठेको सवालबारे आफू निर्वाचित भएपछि मलको आपूर्तिकर्ता छनौट र मूल्य निर्धारण नभएको जानकारी दिए। अघिल्लो कार्यकालमा भएको निणर्य कार्यन्वय भएको हुनसक्ने उनको भनाइ छ । अध्यक्ष रुम्दालीले तत्काल यसबारे छलफल गरेर किसानको गुनासो सम्बोधन गर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्