झापा, पुष १३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोड शाखाले बुधवारदेखि धान खरिद गर्न थालेको छ ।

पहिलो दिन बिर्तामोड शाखाले ७७ क्वीन्टल धान खरिद गरेको हो । ६७ क्वीन्टल रंजित र १० क्वीन्टल सोना मन्सुली धान बुधवार खरिद गरिएको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । बुधवार अर्जुनधाराका किसानले धान बिक्रीका लागि ल्याएका थिए । त्यस्तै गरामनी बिर्तामोडका किसानले पनि धान ल्याएकोमा त्यसलाई बिहीवार काँटा गरिने उनले जनाए ।

खाद्य कम्पनीले सोना मंसुली धान प्रतिक्वीन्टल ३ हजार १२८ र रंजित धान प्रतिक्वीन्टल ३ हजार १२८ रुपैयाँमा खरिद गर्ने गरेको छ ।जवकि व्यापारीहरुले ११०० देखि ११५० प्रतिमन धान किन्ने गरेका छन् । व्यापारीहरुलाई सस्तोमा धान बिक्री नगरी खाद्य कम्पनीमै ल्याउन उनले आग्रह गरेका छन् ।

कम्पनीले धान खरिदका लागि केही मापदण्ड बनाएको छ ।
धान तौलाई, चौकाईसम्बन्धी सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने ,धान घुन किरा नलागेको तथा अन्य बाह्य पदार्थ तथा अन्य धान नमिसिएको हुनु पर्ने ,धान खरिद कार्य सार्वजनिक बिदाको दिनबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सुचारु रहने ,धान विक्री गर्ने किसानले अनिवार्य रुपमा नागरिकताको प्रतिलिपि ल्याउनुपर्ने ,धान विक्री गर्ने किसानले सम्बन्धित वडा कार्यालयको किसान पहिचानको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने ,धान विक्री गर्ने किसानले सम्बन्धित गाउँपालिका, नगरपालिकाको कृषि शाखा वा कृषि ज्ञान केन्द्र कार्यालयको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था रहेको राईले बताएका छन् ।

त्यस्तै एकजना किसानबाट बढीमा १५० क्वीन्टल मात्र धान खरिद गर्न सकिने उनले बताए । कम्पनीले चेकमार्फत धानको रकम भुक्तानी दिने गरेको राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्