झापा, पुष १४ । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताए । उनका अनुसार ‘वि एफ ७’ ले अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी सङ्क्रमण सार्ने गर्दछ । “ चीन र भारतमा यस किसिमको नयाँ भेरियन्ट फैलिरहेको छ । भारतमा पाँच जनामा देखिएको छ ” , उनले भने , “ भारतमा देखिएकाले हामी सतर्कता अपनाउनुपर्दछ । ” नेपालमा भने ‘ वि एफ ७ ’ नामको नयाँ भेरियन्ट अझै फेला नपरेको मन्त्रालयले जनाएको छ । एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिन गर्दा ‘ वि एफ ७ ’ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । मन्त्रालयले नयाँ भेरियन्टको जोखिम हुन नदिनका लागि नेपाल-भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको छ । नेपालमा अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ । पुस ११ गते एक जनालाई मात्र सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमित १० जना मात्र रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्