झापा, पुष १४ । अप्ठेरो भूगोल, थेग्नै नसक्ने जाडो र न्यून मानव बस्ती भएका उच्च पहाडी र हिमाली क्षेत्रमा नेपाल सरकारको उपस्थिति नहुँदा यहाँका नागरिकले छिमेकी मुलुकका सुरक्षाकर्मीबाट थिचोमिचो सहनुका साथै वन्यजन्तु तथा जडीबुटी चोरी सिकारी हुँदा पनि बोल्न सक्ने अवस्था थिएन ।

अहिले भारतको पश्चिम बंगाल र सिक्किमसँग सिमाना जोडिएका विभिन्न स्थानमा सीमा सुरक्षा बल (बीओपी) स्थापनासँगै त्यस क्षेत्रका नागरिक ढुक्क भएका हुन् । ‘बोर्डर आउट पोस्ट नहुँदासम्म यस क्षेत्रको नेपाली भूमिमै पनि हिँडडुल गर्न सहज थिएन, सिक्किम र भारततर्फबाट आएकाले आँखै अगाडि जडीबुटी भेला पारेर लैजान्थे, सशस्त्र प्रहरीले निरन्तर गस्ती गर्न थालेपछि त्यो बन्द भएको छ’, याङवरक-१ का तेजबहादुर बेघाले भने । भारतीय सुरक्षाकर्मीको एकतर्फी निगरानी, वन्यजन्तु र जडीबुटीसँगै गोठमै पालेका बस्तु हराउँदा यी र यस्तै समस्या सहेर बसेका यस क्षेत्रका नागरिक अहिले राम्ररी सुत्न पाएको उनले बताए । चिवाभन्ज्याङ, भैंसे, फालौट र तोरीफुलेमा २०७७ मा बीओपी स्थापना गरिएका हुन । सीमा सुरक्षा बलले नियमित गस्तीसँगै सीमास्तम्भको निगरानी गर्दै आएको छ । भारततर्फ प्रत्येक तीन किलोमिटर दूरीमा सीमा सुरक्षाबल (एसएसबी) राखिए पनि पूर्वी नेपालको पाँचथर खण्डमा मात्र चार वटा बीओपी छ ।

प्रतिबीओपी १७ जनाको दरमा जनशक्ति छ । सशस्त्र प्रहरीले एक बीओपी बराबर झन्डै ३० किलोमिटर क्षेत्र सीमाको सुरक्षा गर्नुपर्छ । ‘सातामा एक पटक सबै पिल्लर भएका स्थानसम्म गस्ती गर्छौं, भारतीय सुरक्षाकर्मीसँगको सहकार्यमा दुई देशीय सीमा स्तम्भको निरीक्षण पनि भइरहन्छ , गस्तीका क्रममा आ-आफ्नो रुटमा पर्ने सबै गोठमा पसेर हालखबर सोध्छौं, उहाँहरूबाट पनि राम्रो सहयोग मिलेको छ,’ चिवाभन्ज्याङ बीओपीका प्रमुख गंगा पाण्डेले भने । ‘सीमावर्ती क्षेत्रमा बीओपी नबसुन्जेलसम्म त्यस क्षेत्रका चौंरी गोठबाट गाईबाच्छा हराउने, पाखन्वेत, हड्चुर र बुढो ओखत जस्ता जडीबुटी र रेडपान्डा जस्ता दुर्लभ वन्यजन्तुका चोरी निकासी हुन्थ्यो, भारततर्फबाट अवैध सिक्किमे रम खुलेआम आयात हुन्थ्यो, अहिले ती सबै बन्द भए, ढुक्क छ,’ विष्णु मा.वि च्याङथापुका शिक्षकसमेत रहेका तिलचन अधिकारी भन्छन्  । सडक सञ्जाल नहुँदा यत्तिका विकट क्षेत्रमा उनीहरू पैदल यात्राबाटै सीमावर्ती क्षेत्रको सुरक्षामा खटिन्छन् । केही महिना बाटामा हिउँ र तुसारो जम्छ । वर्षाका ६ महिना पुरै सडक अवरुद्ध हुन्छ । त्यो बेलाका लागि अग्रिम खानेकुराको भण्डारण गर्नुपर्ने बाध्यता बीओपीसँग छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्