एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको १०० वर्षको उमेरमा निधन भएको छ ।

अहमदाबादस्थित यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टरमा उपचाररत उनको स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ३ बजे निधन भएको हो । उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अहमदाबादस्थित यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टरमा भर्ना भएकी थिइन् । उनको निधनसँगै भारतीय जनता पार्टी (बीजेपी) र अन्य दलका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री मोदी आमाको निधनको खबर पाएसँगै अहमदाबाद प्रस्थान गरिसकेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । प्रधानमन्त्री मोदीले आमाको निधनबारे ट्विटरमा लेखेका छन् ‚ ‘ईश्वरको चरणमा शानदार शताब्दीको विराम । आमा ! मैले सधैं त्यो त्रिमूर्तिको अनुभव गरेको छु; जसमा एक तपस्वीको यात्रा‚ निष्काम कर्मयोगीको प्रतिक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित भएको छ ।’ बुधबार प्रधानमन्त्री मोदी आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अस्पताल पुगेका थिए । हीराबेन भारतको गान्धिनगरनजिकैको रेसान गाउँमा कान्छो छोरो पंकज मोदीसँग बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्