झापा, पुष १५ । झापा बिर्तामोड १ का ४० वर्षिय निराकार पाण्डे ‘विपिन’ ले विदेशी भूमिमा गरेको बाध्यात्मक र कठोर मृत्युवरणले घरपरिवारलाई मात्र नभएर यतिबेला सबैलाई विक्षिप्त बनाएको छ ।

निराकार , उनकी श्रीमती शशीकला र छोरा आर्मन

भयानक आगलागी भइरहेको कम्बोडियाको एक क्यासिनोभित्र फसेका उनले अब नबाँच्ने ठानेर क्यासिनोको १२ तला माथिबाट हामफालेर मृत्युवरण गर्नुअघि घरपरिवारलाई दिएको मृत्युको सन्देश सुनेर भावुक र मर्माहत नहुने सायदै कोही होला । मृत्यु मानिसको बसभन्दा बाहिर हुन्छ । बुताभन्दा बाहिरको परिस्थितिमा मुस्कुराउँदै वा सुस्केरा हाल्दै मृत्यु स्वीकार गर्न विवश हुन्छ । त्यही विवशता बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकार स्वीकार्न बाध्य बने । र त, उनले क्यासिनोको त्यति माथिबाट हामफालेर मृत्युलाई आत्मसात गरे । क्यासिनोमा आगलागी हुनेबित्तिकै बुधवार राति साढे ११ बजे उनले घरपरिवारलाई खबर गरेका थिए । आगो दन्किरहेको थियो , बाध्यात्मक मृत्युवरण गर्न विवश उनी आफ्ना बुवा अग्निप्रसाद पाण्डे , आमा लीलादेवी पाण्डे , श्रीमती शशीकला लोहनी , छोरा आर्मनसहित परिवारका प्रायः सबै सदस्यहरुलाई आफ्नो मृत्युको सन्देश सुनाइरहेका थिए । राति साढे ११ बजेदेखि बिहान ४ बजेसम्म दाजु निराकारले आफूबाहेक परिवारका सबै सदस्यसंग कुराकानी गरेको भाइ निश्चल पाण्डेले बताए ।

जीवन बचाउन संघर्ष गरिरहेका निराकारले क्यासिनोको १२ तलाको एउटा कोठाको बाहिरपट्टीको झ्यालमा बसेर घरमा भिडियो कल गरिरहेको उनको परिवारजनले कल्पना समेत गरेका थिएनन् ।
‘जब दाजुको कल उहाँकी श्रीमती (भाउजू) शशीकलाले रिसिभ गर्नुभयो, उहाँ बसेको ठाउँको चोरैतिर धुँवैधुँवा उडिरहेको दृश्य थियो,’ निश्चलले भने, ‘दाजु अत्तालिएर रुँदै परिवारका सबै सदस्यहरूसँग पालैपालो कुराकानी गर्न थाल्नु भयो, उहाँको एउटै बोली थियो, अब म बाँच्दिनँ ।’

ठेक्कापट्टा व्यवसाय गर्ने निराकार करिब दुई महिनाअघि गत नोभेम्बर ९ तारिखका दिन दोस्रो पटक थाइल्यान्ड गएका थिए । त्यहाँबाट घुम्नका लागि निराकार थाइल्यान्डको सीमानजिकैको कम्बोडियास्थित पोइपेट सहर गएका रहेछन् । निराकार बसेकै १८ तलाको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधवार राति भीषण आगलागी भएको थियो । आगोले होटेललाई आफ्नो चपेटामा लियो । होटेलको चार तलामाथि आगलागी भएपछि त्यसमाथि बसेका अधिकांश मानिस कोठामै थुनिए । त्यहाँबाट भागेर ज्यान जोगाउने उपाय थिएन । सो आगलागीमा परी निराकारसहित कम्तीमा २४ जनाको ज्यान गयो । ७० बढी घाइते र कयौँ मानिस बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हामफाल्नुअघि उनले आँखाबाट आँसु झार्दै श्रीमती, बुबा, छोरा, भाइ, आफन्तजनसँग लामो गफगाफ गरेका थिए । दाजुले भिडियो कुराकानीमा अधिकांश समय आफ्ना १० वर्षीय छोरा आर्मनलाई सम्झिएर बोलेको कुराकानी झलझली याद आइरहेको निश्चलले बताए । निराकारले भिडियो संवादमा भनेका रहेछन् – सानी, मेरो आँखाको नानी, बाबु म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ यु । जहाँ भए पनि जसरी बसेपनि बाबाले तिमीलाई सधैँ सम्झिनु हुन्छ है बाबु । आर्मन इज द वेस्ट है सानु ।

उनले भने, ‘अब सुन है, मामुलाई धेरै माया गर्नू, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है । लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’
कसैलाई चिट गर्नुहुँदैन, फ्रड गर्नुहुँदैन । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा । बिशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाइदिनु । माइजूहरूलाई चित्त नदुखाइदिनु तिमीले । उहाँहरूले धेरै गर्नुभएको छ, माइजूहरूले । लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ । है सानु तिमी धेरै ठुलो मान्छे बन्नू । ज्ञानी हुनू । अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ । है उमेरले ऊ मभन्दा कान्छो भएपनि म दाई भन्छु उसले मलाई दाजु भन्छ । उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु,’ उनले भने । ‘भोलिका दिनमा तिमीलाई उसैले सहयोग गर्छ है बाबु । राम्रो मान्छे बन्न । कसैलाई चिट गर्नुहुन्न छोरा । मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा । मैले सकिनँ है । तिमीसँग बिताएका पलहरू सधैँ यादगार रहनेछन् । सधैँ शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति साली गोथ्ले, तिम्रो भाइ आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, कसैलाई फ्रड नगर्नू, ज्ञानी बन्नू ’भनेर उनको त्यो नै दाजुको अन्तिम कल भएको भाइ निश्चलले बताए । निराकारको ससुराली लमजुङ हो । उनले शशीकला लोहनीसंग विवाह गरेका थिए ।
‘भिडियो कल सकिएलगतै दाजुले दुईवटा हातमा दुईवटा ब्याग भिरेर ज्यान जोगाउन १२ तलामाथिबाट हामफाल्नु भयो । हाम नफाल्नु भनेर परिवारजनले पटक पटक सम्झाउँदा पनि दाजुले मान्नु भएन । अन्ततः हामफालेर छाड्नुभयो । दाजुलाई बचाउन सकिएन, हामीलाई छाडेर सधैँका लागि जानुभयो,’ उनले भने ।

निराकार बिर्तामोड नगरपालिका– १ का वडा अध्यक्ष अग्निप्रसादका माइला छोरा हुन् । उनका जेठा छोरा निरज काठमाडौंमा बस्छन् भने कान्छा छोरा निरज अमेरिकामा बस्दै आएका छन् । साइला निश्चल भने घरमै बस्ने गरेका छन् ।

निराकारको शव त्यहाँ आइसमा हालेर राखिएको जानकारी प्राप्त भएको छ । उनको शव नेपाल ल्याउन प्रक्रिया सुरु गरिएको छ । आबश्यक कागजपत्र थाइल्यान्डमा रहेको नेपाली दूतावासमा पठाइसकिएको बुवा अग्निप्रसादले बताए । ‘शव नेपाल ल्याउन एमाले नेता अग्नि खरेलले पहल गर्नुभयो’ काठमाडौमा रहेका उनले भने, ‘अग्नि खरेलले भनेपछि थाइल्यान्डमा रहेको नेपाली दूतावासका प्रथम अधिकृत खगराज पाण्डेले आफै कम्बोडिया पुगेर छोराको शव बुझ्नु भएको छ ।’ प्रथम अधिकृत पाण्डेले नै कानुनी प्रक्रिया पूरा गरी थाइल्यान्डबाट शव पठाइदिने र मंगलवारसम्म शव नेपाल आइपुग्ने उनले जानकारी दिए । घरमै शव ल्याएर अन्त्येष्टि गरिने बताउँदै बुवा अग्निप्रसादले भने,‘बाँचे बाँच्छु मरे मर्छु भन्दै हामफालेर छोराले साहसिक काम नै गरे भन्ने लाग्छ । ’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्