हल्दिवारी, पुष १६ । झापाको हल्दिवारीमा आगामी फागुनको पहिलो साताबाट ६ करोडको लगानीमा निजी अस्पताल संचालन हुने भएको छ ।

ग्रामीण समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले १५ शैय्याको मेडी होम हस्पिटल प्रा. लि.संचालन हुन लागेको हो ।

अस्पताल निर्माणको कार्य दु्रत गतिमा भइरहेको शनिवार भेलागुडी पर्यटकीय क्षेत्रमा आयोजित प्रथम वार्षिक साधारणसभामा अस्पतालका अध्यक्ष कृष्णप्रसाद प्रसाईले बताए । उनले १५ शैय्याको अस्पतालका लागि आवश्यक सबै मापदण्ड पुरा गर्ने कागजपत्र गाउँपालिकाको स्वास्थ्य शाखामा पेश गरिसकिएको , हल्दिबारीको केन्द्रमा अवस्थित स्कुल चौकमा चुडामणि श्रेष्ठ र टेकेन्द्र श्रेष्ठको दुई तले भवनहरु भाडा सम्झौता गरी आँगनमा पेबर्स बिछ्याउने र इन्टेरिअरका कार्य सुरु गरिसकिएको, प्याथोलोजी ल्याब, अप्रेशन थिएटर, फार्मेसी, ओ.पी.डी, इमर्जेन्सी वार्ड, लेबर रूम, आइ.सी.यु., एक्सरे कोठालगायतका बिभागहरुमा मापदण्ड अनुसारका स्पेस, रंग, वाइरिंग आदि सुरु गरिएको ,स्वास्थ्य बिमा सम्झौताका लागि सम्बन्धित बिमा कम्पनी र वित्तीय संस्थासंग पहल थालिएको ,विपन्न वर्ग लक्षित स्वास्थ्य बिमा कार्यक्रमका लागि यसोदा देवी फाउन्डेसनका सचिव दिपकप्रसाद ओलीसंग निःशुल्क बिमा (वार्षिक १०जनाको ) सम्झौता गरिसकिएको जानकारी दिए ।

उनले कम्पनीको नाममा रजिस्ट्रेसन पास गर्नुपर्ने लगभग १५ कठ्ठा जग्गाको ६९ लाख रुपैयाँ सम्बन्धित जग्गाधनीहरुलाई चुक्ता गरिसकिएको समेत जानकारी दिए । अस्पतालले आफ्नै जग्गा खरिद गरेपनि हाललाई भाडाको घरमा संचालन गर्न लागेको अध्यक्ष प्रसाईले जानकारी दिए । ग्रामीण क्षेत्रमा रही गुणस्तरीय स्वास्थ्य सेवा लिन भद्रपुर, बिर्तामोड, दमकलगायतका शहरहरुमा हल्दिवारीका बासिन्दाहरु जानु परेको र स्वास्थ्य उपचार सरल, सुलभ नभएर सास्ती खेप्नु परेको तथ्यलाई मध्यनजर गरी सो अस्पताल संचालन गर्न लागिएको उनले बताए ।
फागुनको पहिलोभित्र १५ शैय्या क्षमताको अस्पताल ओपिडी ,इमर्जेन्सी ,फार्मेसी,ल्याब र बिशेषज्ञ सेवा शुरु गरी यसोदा देवी फाउन्डेसनसग सहकार्य गरी बिपन्न परिवार लक्षित स्वास्थ्य कार्यक्रम संचालन गर्ने, एम्बुलेन्स प्राप्त गर्ने साथै वार्षिक ५० परिवारको स्वास्थ्य बिमा गराउने योजना रहेको समेत अध्यक्ष प्रसाईले जानकारी दिए । अस्पतालमा कृष्णप्रसाद प्रसाई , होम कार्की , गंगा प्रसाई , शालिक पराजुली , शुक्रराज दाहाल, पुष्कर नेपाल र डा. सीपी न्यौपाने संचालक सदस्य रहेका छन् भने जम्मा शेयर सदस्य ३५ जना रहेका छन् ।

अस्पतालका अध्यक्ष प्रसाईको अध्यक्षता तथा पूर्व प्रधानाध्यापक नरेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालका सदस्य तथा पूर्व एसएसपी रमेश सुवेदी , हल्दिवारी स्वास्थ्य चौकीका इन्चार्ज माधव यादवलगायतले शुभकामना मन्तव्य राखेका थिए । संचालक सदस्य शुक्रराज दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन होम कार्कीले गरेका थिए ।

हल्दिवारीमा सरकारीस्तरमा ३ वटा स्वास्थ्य चौकी , २ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् । भर्खरै एउटा आधारभूत अस्पताल खुलेको छ । त्यस्तै करिब १० वटा क्लिनिक संचालनमा रहेका छन् । हल्दिवारीमा पहिलो पटक निजीस्तरमा सो अस्पताल खुल्न लागेको हो ।हल्दिवारीको जनसंख्या ३५ हजार ४८७ रहेको छ ।

१ प्रतिक्रिया

  1. सचालक ज्युहरुलाई हार्दिक बधाई हल्दिबारीमा निजि अस्पताल सचालनमा आईरहेको अखबार बाट थाहा पाउदा खुशी लागेको छ प्रगति गर्दै जानु होला हल्दिबारीको बिरामीले बिर्तामोडतिरको अस्पतालले दिने उपचार भन्दा कम नहोश भन्ने सल्लाह पनि दिन चाहन्छु धन्यवाद

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्