बिर्तामोड,पुष १७ । झापाको पुरानोमध्येको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था स्थीर गतिले संचालन भइरहेको साधारणसभाका सहभागी वक्ताहरुले बताएका छन् ।

आइतवार आयोजित २६औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको वित्तीय विवरण प्रगतिउन्मूख रहेको बताएका हुन् । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले साधारणसभाको उद्घाटन गर्दै सो सहकारीले जति संभावना थियो , त्यति गर्न नसकेपनि वित्तीय अवस्था राम्रो रहेको बताए । उनले आर्थिक कारोबारसंगै सामाजिक र सांस्कृतिक क्षेत्रमा लाग्न आग्रह गरे ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, एक्सेल डेभलपमेन्ट बैंकका सिइओ डा. इन्द्रकुमार कट्टेल , सप्तकोशी डेभलपमेन्ट बैंकका सिइओ दिनेशकुमार पोखरेल , संस्थाका पूर्व अध्यक्ष डा. रुपक खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अनुपस्थितिमा उपाध्यक्ष भगिरथ पोद्धारको अध्यक्षतामा सञ्चालित २६औं वार्षिक साधारणसभामा पोद्धारले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । हालसम्म ४ हजार ९५ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३ करोड २६ लाख ६१ हजार ८०० रुपैयाँ पुर्याइएको छ । प्रतिवेदन अनुसार गत असार मसान्तमा कूल निक्षेप ३२ करोड १२ लाख ४८ हजार, कर्जा लगानी ३५ करोड ९ लाख ७५ हजार, जगेडा तथा अन्य कोषहरु ४ करोड ५४ लाख ९३ हजार रहेको उल्लेख छ ।


साधारणसभाको अवसरमा संस्थाले २ जना कर्मचारीहरुलाई जनही ५ हजार रुपैयाँ पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको छ । कर्मचारीहरु विपन लिम्बू र मनकुमारी सापकोटालाई पुरस्कृत गरिएको हो । यस्तै ६ जना असल बचत कारोबारी सदस्यहरु र ६ जना असल ऋण कारोबारी सदस्यहरु पनि जनही २ हजार १०० रुपैयाँसहित पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा बचतकर्तातर्फ डिल्लीप्रसाद पुरी , पुनम खत्री , अशोक प्रसाद , इन्द्रमाया कार्की , निर्मल थापा ,पवित्रा बस्नेत , ऋणीतर्फ विष्णुबहादुर दमाई ,बुद्धिबहादुर गुरुङ, दीपक राजवंशी , रन्जित राय , मधुराम राजवंशी र गोविन्द भण्डारी रहेका छन् ।

सम्मानित र पुरस्कृत कर्मचारी र कारोबारी सदस्यहरुलाई रामचन्द्र उप्रेती, डिल्ली दाहाल, डा. रुपक खनाल, डा. इन्द्रकुमार कट्टेल, दिनेशकुमार पोखरेल, चन्द्रकुमार राजभण्डारी, भगिरथ पोद्धारलगायतले प्रशंसापत्र र नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक रोशन दाहालले सञ्चालन गरेको साधारणसभामा लेखा सुपरीवेक्षण समितिका सदस्य प्रेम थापाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्