झापा , पुष १८ । बिनायोजना जथाभावी गरिएको सडक निर्माणले ३२ प्रजातिका गुराँस फुल्ने तीनजुरे, मिल्के र जलजले (टीएमजे) क्षेत्रको आकर्षण घट्दै गएको छ ।

तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्म पदमार्ग मासेर सडक निर्माण भएको छ । पदमार्ग भएर आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न छाडेको स्थानीय लालीगुराँस होटलका सञ्चालक उदयकुमार लोले बताए  । नेपाल पर्यटन बोर्डले नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलमध्ये सूचीकृत गरेको यो क्षेत्र यतिबेला सडक विस्तारका कारण क्षतविक्षत बनेको उनले गुनासो गरे । मोटर बाटो निर्माणका कारण यहाँसम्म आइपुगेका पर्यटक बसाइ अवधिसमेत छोट्याउन थाल्दा आर्थिक गतिविधिमा समेत असर परेको स्थानीय व्यवसायी बताउँछन् । यो पदमार्गमा खुलेका दर्जनौं साना ग्रामीण बजारमा समेत अहिले कारोबार न्यून छ । यो क्षेत्र कुम्भकणर्, मकालु र कञ्चनजंघा हिमाल आरोहण गर्न जानेहरूको पदमार्गसमेत हो । चल्तीमा रहेको पदमार्ग मासिएको र नयाँ पदमार्गको पहिचान नगरिँदा यस क्षेत्रको पर्यटन व्यवसायमा दीर्घकालीन असर पर्न सक्ने पर्यटन विकास तथा प्रवर्द्धन समितिका महासचिव लक्ष्मण तिवारीले बताए । सडकले पदमार्गमा पर्ने घाँसे चौर र धेरै वन क्षेत्र फँडानी गरेकाले वातावरणीय असरसमेत देखिन थालेको डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्