कनकाई, पुष १८ । कोरोना संक्रमणको चौथो लहर फैलिनसक्ने अबस्थामा झापाको कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ ।
नगरपालिकाले वडा नं–३ स्थित नगर अस्पतालमा सञ्चालनमा ल्याएको अक्सिजन प्लान्टको सोमवार एक कार्यक्रमकाबीच नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरे । नगर प्रमुख पोखरेलले आफ्नो तर्फबाट अक्सिजन प्लान्ट स्थापनाको लागि १० लाख रुपैयाँ दिने घोषणा गरेर निर्माण सुरु गरिएको थियो ।अक्सिजन प्लान्टका लागि कनकाई नगरको १ करोड ७ लाख ६२ हजार २९३ र विभिन्न दाताहरूबाट संकलित ५८ लाख ४३ हजार ४१३ गरी जम्मा १ करोड ६६ लाख ५ हजार ७०६ रुपैयाँ खर्च भएको छ ।

दुई वर्ष अघिदेखि कोरोना कहरका कारण प्रभावित नगरवासीहरुलाई कनकाई नगरपालिकाले निःशुल्क अक्सिजन उपलब्ध गराएको थियो । कोभिडबाहेकका अक्सिजन चाहिने सबै खाले बिरामीहरूले पनि सो सुविधा प्राप्त गर्दै आएका थिए । हालसम्म नगरपालिकाले अक्सिजन आवश्यक पर्ने बिरामीहरूलाई अक्सिजन खरिद गरेर निःशुल्क वितरण गर्दै आएकोमा अब आफ्नै प्लान्टबाट उत्पादन गरिएको अक्सिजन नगरवासीहरुलाई उपलब्ध गराउने र छिमेकी पालिका र अस्पतालहरूलाई अक्सिजन उचित मूल्यमा बिक्री गर्ने गरी प्लान्ट सञ्चालनमा ल्याइएको नगर प्रमुख पोखरेलले बताए । नगर प्रमुख पोखरेलले कोरोनाको दोस्रो लहरमा भारतमा अक्सिजन नपाएर मानिसहरु मरिरहेको घटनाले अन्तरह्रदय छोएपछि राम्रो कामको थालनी आफैबाट शुरु गर्नुपर्छ भनेर पाउनुपर्ने पारिश्रमिकबाट १० लाख रुपैयाँ अक्सिजन प्लान्टको लागि सहयोग गरेको बताए । नेपालका अधिकांश प्लान्टहरूले उत्पादन गर्नेे अक्सिजनको शुद्धता ९३ प्रतिशत रहेकोमा कनकाईले स्थापना गरेको प्लान्टबाट ९५ प्रतिशत शुद्ध अक्सिजन उत्पादन हुने, दैनिक १६० वटा सिलिन्डर भर्न सकिने नगरपालिकाले जनाएको छ । प्लान्टबाट अस्पतालको बेडसम्म सिधै अक्सिजन पु¥याउने व्यवस्था मिलाइएको पोखरेलले बताए ।

अक्सिजन प्लान्ट निर्माण गर्ने इन्जिनियर प्रवल वाग्लेले ४० एमएमक्यु क्षमताको अक्सिजन प्लान्टबाट ९५ प्रतिशतभन्दा बढी शुद्ध अक्सिजन उत्पादन हुने बताए । उनले अक्सिजन प्लान्ट उत्पादन गर्ने मेशिन टर्कीबाट ल्याइएको जानकारी दिए । २०७७ सालदेखि अक्सिजन प्लान्टको निर्माण थालिएको थियो जुन सोमवारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । अक्सिजन प्लान्ट उद्घाटनको अवसरमा नगर प्रमुख पोखरेलसहित ११७ जना दाताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपप्रमुख आशा शर्मा सिवाकोटीले दाताहरूलाई धन्यवाद दिँदै स्वागत गरेकी थिइन् ।
स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले संचालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने , निवर्तमान उपप्रमुख मन्जु प्रसाई , मेडिकल सुपरिटेन्डेन्ट मनिश तिमल्सिना , मेडिकल अधिकृतहरु अभिशेख नायक , रुपेश शाह, वडाध्यक्षहरु ,पार्टी प्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।