झापा, पुष १९ । रौतहट–२ का स्वतन्त्र संघीय सांसद किरणकुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गराएका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद साहलाई खादा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।
उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का संघीय सांसदका प्रत्यासी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्यासी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हकलगायतको उपस्थिति रहेको थियो ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार साहले तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार तथा पूर्वमन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताब आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए । २०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र नं २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।