बिर्तामोड, पुस १९ । मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशिको भद्रपुर झापा गोल्डकपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ ।

मेची रंगशालामा हुँदै आएको फुटबल प्रतियोगिता १८ वर्षयता हुन सकेको थिएन । प्रतियोगिता फागुन ७ गतेदेखि १६ गतेसम्म चन्द्रगढीको मेची रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको हो । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । त्यस्तै, प्याराफिट र भवनको रंगरोकन कार्य पनि सुरु भएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापाको पुरानो मेची रंगशालालाई पुनर्जीवन दिन गोल्डकप आयोजना गर्न लागिएको हो । त्यस्तै, जिल्लालाई फुटबलको हबको रुपमा विकास गराउन भद्रपुर झापा गोल्डकप आयोजना गरिएको ढकालले जानकारी दिए । गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ तथा ट्रफी र मेडल पाउने छन् । त्यस्तै, प्रतियागिताभरिको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख एक हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा आयोजकको भद्रपर ११ सहित नेपालका ७, भारत र भूटानका तीन गरी १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुंगो केही दिनमै लगाइने वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । गोल्डकपको संरक्षकको रुपमा रहेको भद्रपुर नगरपालिकाले प्रतियोगिताका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्