भद्रपुर, पुष १९ । ३२ औ प्याब्सन दिवसको अवसर पारेर झापा प्याब्सनले भद्रपुरमा जिल्लास्तरीय बृहत् साँस्कृतिक प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही पुष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्यबीच प्रतिष्पर्धा हुनेगरी साँकृतिक कार्यक्रम गरिने भएको हो ।

प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्र कार्कीका अनुसार प्रतियोगितामा नृत्यका ३९ र गायनका ३९ जना प्रतिष्पर्धीबीच प्रतिष्पर्धा हुने छ । जसमा गायनतर्फ १२ वर्षमुनि, कक्षा १० सम्मका र कक्षा १२ सम्मका उत्कृष्ट प्रतिष्पर्धीबीच जिल्ला उत्कृष्टका लागि प्रतिष्पर्धा हुने छ भने नृत्यतर्फ आधुनिक, राष्ट्रिय र जातीय पहिचानसहितका साँस्कृतिक नृत्यहरूको विषयगत प्रतिष्पर्धा हुने छ ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले एउटा विद्यालयले प्रतियोगितामा भाग लिन एक लाखदेखि एक लाख ५० हजारसम्म लगानी गरेर पालिकामा उत्कृष्ट हुँदै जिल्लामा प्रतिष्पर्धामा आउने जानकारी दिए । उनका अनुसार २०६४ सालदेखि झापा प्याब्सनले आयोजना गर्दै आएको यो प्रतियोगिता झापा सदरमुकाम समेत रहेको भद्रपुरमा पहिलो पटक आयोजना हुन लागेको हो ।

कार्यक्रमको तयारीबारे जानकारी दिँदै भद्रपुर प्याब्सनका सचिव सन्देश राईले भव्य रूपमा कार्यक्रम सम्पन्न गर्न ५ हजार क्षमताको पण्डाल निर्माण गरी सुविधासम्पन्न स्टल तयार रहेको जानकारी दिए । उनले कार्यक्रम सफल बनाउन पुष २४ र २५ गते भद्रपुर नगरक्षेत्रका २९ वटै विद्यालयका विद्यार्थी र अभिभावकको उल्लेखनीय सहभागिताका लागि विद्यालय जिम्मेवार भएर लाग्ने वातावरण बनाउने उल्लेख गरेका छन् ।

कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद घिमिरे, केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, भद्रपुर सल्लाहकार राजेन्द्रकुमार घिमिरेलगायतले धारणा राख्दै निजी विद्यालयले किताबी ज्ञानसंगैै अतिरिक्त क्रियाकलाप गरिरहेको देखिने छ भन्दै विद्यार्थीमा राष्ट्रवादी भावना विकास गर्न कार्यक्रम फलदायी हुने विश्वास राखेका थिए । उनीहरूले निजी विद्यालयको योगदान राज्य र समाजले सही रूपमा नदेखेको गुनासो समेत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्