झापा, पुष १९। झापा गाउँपालिका वडा नं २ का सिर्जन सुवेदीले ट्रयाक्टरमा १२५ बोरा धान बिक्री गर्न बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ल्याए । तर, कम्पनीले खरिद गर्न मानेन ।

अनेक हार गुहार गर्दा पनि नकिनेपछि सुवेदीले आफ्नो धान फिर्ता लानुपर्यो । कारण उनको धानमा जुँगा रहेको थियो । थेसर गर्दा धानसंगै केही जुँगा मिसिएको थियो ।

त्यस्तै बिर्तामोड १ का कुलप्रसाद ओडारीको धान पनि कम्पनीले किन्न मानिरहेको थिएन । ओडारीको धानमा केही टुँडो रहेको थियो । उनले १३५ बोरा धान बेच्न ल्याएका थिए ।धान बेच्नका लागि उनले धान बताएर टुँडो हटाउनु पर्यो । अनि मात्र कम्पनीले आफ्नो धान किनेको ओडारीले बताए । थेसर गरेको धानमा अलिअलि टुँडो आउनु स्वाभाविक भएपनि खाद्य कम्पनीले धान नकिन्ने बहाना झिकेको ओडारीले गुनासो गरे ।

खाद्यले किन्न नमानेपछि धान देखाउँदै किसान ओडारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोड शाखाले गत बुधवारदेखि किसानको धान खरिद गर्न थालेको हो ।तर, किसानले त्यहाँ सहजै धान बिक्री गर्न सकिरहेका छैनन् । व्यापारीलाई दिँदा भाउ नदिने र भाउ पाउने भनेर खाद्य कम्पनीमा ल्याउँदा कम्पनीले सजिलै नकिन्ने समस्याले किसानहरु पिरोलिएका छन् । धान बिक्री भएपनि धान बेचेको रकम उठाउन समस्या हुने गरेको किसानहरु बताउँछन् । अर्जुनधारा ७ का रघुनाथ सिटौलाले गत बुधवार ५६ मन धान बेचेका थिए । तर, त्यसको भुक्तानी उनले चार दिनपछि आइतवार मात्र पाए । उनको धान बिहीवार मात्र काँटा भएको थियो भने शुक्रवार र शनिवार विदा भएकाले उनले आइतवार मात्र भुक्तानी पाएका हुन् ।‘धान बेचेर आफूलाई त्यस पैसाले भुस किन्नु थियो ’आफ्नै गाडी भएका सिटौलाले भने ,‘भुस सिरहा लानु थियो तर भुक्तानी नपाउँदा लान पाइनँ ।’ खाद्य कम्पनीको भुक्तानी प्रक्रिया झन्झटिलो भएको सिटौलाले बताए । कम्पनीले चेकमार्फत धानको रकम भुक्तानी दिने गरेको छ ।

किन्न नमानेको धान


खाद्य कम्पनीले सोना मंसुली धान प्रतिक्वीन्टल ३ हजार १२८ र रंजित धान प्रतिक्वीन्टल ३ हजार १२८ रुपैयाँमा खरिद गर्ने गरेको छ ।जवकि व्यापारीहरुले ११०० देखि ११५० प्रतिमन धान किन्ने गरेका छन् ।कम्पनीले धान खरिदका लागि केही मापदण्ड बनाएको छ । धान तौलाई, चौकाईसम्बन्धी सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने ,धान घुन किरा नलागेको तथा अन्य बाह्य पदार्थ तथा अन्य धान नमिसिएको हुनु पर्ने ,धान खरिद कार्य सार्वजनिक बिदाको दिनबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सुचारु रहने ,धान विक्री गर्ने किसानले अनिवार्य रुपमा नागरिकताको प्रतिलिपि ल्याउनुपर्ने ,धान विक्री गर्ने किसानले सम्बन्धित वडा कार्यालयको किसान पहिचानको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने ,धान विक्री गर्ने किसानले सम्बन्धित गाउँपालिका, नगरपालिकाको कृषि शाखा वा कृषि ज्ञान केन्द्र कार्यालयको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था रहेको छ ।

फिर्ता गरिएकोे धान

आफूहरुले केही मापदण्ड बनाएको र सो मापदण्ड पूरा गर्नेका लागि कुनै समस्या नरहेको शाखा प्रमुख देवेन्द्र राईले बताए । किसानलाई असहज बनाउने आफूहरुको नियत नरहेको उनले प्रष्ट्याए । ‘ब्यापारीकहाँ जस्तो नहुन सक्छ ’ उनले भने ,‘धेरै समय नलागोस् भने हामीले दुईवटा काँटा संचालन गरेका छौं ।’किसानहरु धान ल्याउन आतुर देखिने र धान ल्याइसकेपछि भुक्तानीको लागि पनि आतुर देखिने गरेको उनले बताए । कोही कोही झोक्किने पनि गर्ने गरेकाले संझाई बुझाइ पठाउने गरेको उनको भनाइ छ । बिर्तामोड शाखाले मंगलवारसम्म रंजित ७९२.३२ क्वीन्टल र सोना मन्सुली २८२.८० क्वीन्टल गरी १ हजार ७५.१२ क्वीन्टल धान खरिद गरेको कार्यालय प्रमुख राईले जानकारी दिए । बिर्तामोड शाखाले ५ हजार रंजित र १० हजार सोना मन्सुली गरी १५ हजार क्वीन्टल धान किन्ने कोटा निर्धारण गरिएको राईले बताए । उनले एकजना किसानबाट बढीमा १५० क्वीन्टल मात्र धान खरिद गर्न सकिने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्