झापा, पुष १९ । जिल्ला प्रहरी कार्यालयमा आएका नयाँ प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागूऔषध नियन्त्रणलाई प्राथमिकता दिएसंगै प्रतिबन्धित लागूऔषधसहित चारजना पक्राउ परेका छन् ।

सोमवार दिउँसो १.५० बजे झापा गाउँपालिका वडा नं.१ सुकुम्बासी टोलमा प्रहरी चौकी टाँघनडुब्बाबाट खटिएको प्रहरी टोलीले शंका लागेर मे.८ प. ५३४४ नं.को मोटरसाइकललाई रोकी चेकजाँच गर्दा कन्काई नगरपालिका वडा नं.५ बस्ने अन्दाजी २२ वर्षिय गौरव चुँडाल र वडा नं.४ बस्ने अन्दाजी ४४ वर्षिय भिमबहादुर बस्नेत ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर र १ थान डिजिटल तराजु फेला परेकोले मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी बसन्त पाठकले बताए ।

साथै सोमवार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ भट्टराई चौकमा पैदल हिडिरहेका सोही ठाउँ बस्ने २८ वर्षिय दिलिप लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै मंगलवार दिउँसो २ बजे झापा गाउँपालिका वडा नं. ४ र ५ को सिमानामा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं गरेका अर्जुनधारा नगरपालिका वडा नं. ७ बस्ने अन्दाजी २३ वर्षिय बामदेव मिश्रलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ५००मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्