झापा, पुष २१ । देशको पहिलो ट्रान्जिट पोइन्ट बनेको झापामा लागूऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय भएर लागेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा आएपछि प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागूऔषधको विकराल समस्यालाई पहिलो प्राथमिकतामा राखेका छन् ।

झापा लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट किन र कसरी बन्यो भन्ने कारण पहिल्याउँदै त्यसको नियन्त्रणमा लागिपरेको प्रहरी उपरीक्षक रेग्मीले बताए । सामान्य क्राइमले व्यक्ति र घरपरिवारलाई असर गरेपनि लागूऔषधको समस्याले सिंगो समाजलाई सिध्याउन लागेकोले त्यसकारण निर्मम भएर लागेको उनले बताए । शुरुवाती समयमा प्रहरी उपरीक्षक रेग्मी नेतृत्वको टीम सक्रिय भएर लागेको देखिन्छ । रेग्मी आएको एक साताभित्र प्रहरीले करिव एक दर्जनलाई लागूऔषधसहित पक्राउ गरिसकेको छ ।

यसक्रममा पछिल्लो पटक बिहीवार साँझ प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । साँझ ६ बजे दमक नगरपालिका वडा नं. २ खरखरेमा सोही ठाउँ बस्ने ३६ वर्षिय सन्तोष राजवंशीको घरभित्र उनीसहित सोही ठाउँका ३६ वर्षिय कोलिलाकुमार बुढाथोकी, २८ वर्षिय केशव धिमाल र वडा नं.१ बस्ने ३१ वर्षिय सन्दिप लिम्बूलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगर फेला परेको थियो । ब्राउनसुगरसहित उनीहरुले प्रयोग गरेको को.१४ प.७७८४,मे.८.प ३०६६ नम्वरको मोटरसाइकल र बिभिन्न कम्पनीको मोवाइल ५ थानसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि दमक नगरक्षेत्रबाटै प्रतिबन्धित ब्राउनसुगरसहित दुईजना पक्राउ परेका थिए । पक्राउ पर्नेमध्ये एक जना युवती रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुलाई बुधबार साँझ पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले बुधबार साँझ ६ः३० बजे मे. ७ प ५१०७ नम्बरको मोटरसाइकल चालक धनराज आलेलाई शंका लागेर चेकजाँच गर्दा ८ सय मिलिग्राम प्रतिबन्धित ब्राउनसुगर फेला परेको थियो । ३९ वर्षीय आलेको स्थायी घर इलामको फाकफोकथुम गाउँपालिका ४ हो भने उनी दमक १ स्थित कुमाल चोकमा बसोबास गर्दै आएका थिए ।

यस्तै, बुधबार साँझ ७ः३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चिया दोकानमा बसिरहेको अवस्थामा दमक नगरपालिका वडा नम्बर ९ की २६ वर्षीया अनिशा कार्कीलाई पनि ब्राउनसुगरसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार अनिशा कार्कीलाई शंका लागेर चेकजाँज गर्दा उनको साथबाट २ ग्राम ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।

त्यस्तै काठमाडौंमा लागूऔषध आपूर्ति गर्ने झापाका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा झापाका प्रदीप राईलाई लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । उनले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ लालीगुराँस टोल बस्ने सुजन कार्कीलाई लागूऔषध बिक्री गर्न पठाएको खुलेको थियो । राई झापामा रहेको थाहा पाएपछि ब्यूरोको काँकडभिट्टा शाखाले पुस १८ गते पक्राउ गरी काठमाडौँ पठाएको हो । प्रहरीका अनुसार कार्कीको साथबाट तीन सय मिलिग्राम र डेराबाट ६७ दशमलव ७ ग्राम गरी जम्मा ६८ ग्राम खैरो हेरोइनसहित दुई थान तराजु बरामद गरिएको थियो ।

यसअघि सोमवार प्रतिबन्धित लागूऔषधसहित चारजना पक्राउ परेका थिए ।
सोमवार दिउँसो १.५० बजे झापा गाउँपालिका वडा नं.१ सुकुम्बासी टोलमा प्रहरी चौकी टाँघनडुब्बाबाट खटिएको प्रहरी टोलीले शंका लागेर मे.८ प. ५३४४ नं.को मोटरसाइकललाई रोकी चेकजाँच गर्दा कन्काई नगरपालिका वडा नं.५ बस्ने अन्दाजी २२ वर्षिय गौरव चुँडाल र वडा नं.४ बस्ने अन्दाजी ४४ वर्षिय भिमबहादुर बस्नेत ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर र १ थान डिजिटल तराजु फेला परेकोले मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।

साथै सोमवार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ भट्टराई चौकमा पैदल हिडिरहेका सोही ठाउँ बस्ने २८ वर्षिय दिलिप लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै मंगलवार दिउँसो २ बजे झापा गाउँपालिका वडा नं. ४ र ५ को सिमानामा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं गरेका अर्जुनधारा नगरपालिका वडा नं. ७ बस्ने अन्दाजी २३ वर्षिय बामदेव मिश्रलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ५००मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्