झापा , पुष २२ । लन्डनस्थित नेपाली दूतावासको लेटर हेड, छाप र दस्तखत अनधिकृत रूपमा प्रयोग गरी ‘युके सिजनल भिसा मिति परिवर्तन’ सम्बन्धी जारी सूचनाप्रति लन्डन दूतावासले ध्यानाकर्षण भएको जनाएको छ ।

गत पौष १८ गते प्रकाशित सूचनामा बेलायतमा सिजनल भिसामा नेपालबाट कामदार ल्याउने कम्पनीले दूतावासको लेटर हेड, छाप र दस्तखत अनधिकृत रूपमा प्रयोग गरी नक्कली सूचना प्रकाशित गरेका थिए । सन् २०२२ का लागि सिजनल भिसा (मौसमी भिसा) को लागि आवेदन दिएका र अन्तरवार्ताको पालो नपाएका आवेदकहरूको अन्तरवार्ता मिति परिवर्तन भएको भन्दै तिनीहरूले नक्कली सूचना जारी गरेका थिए । लन्डनस्थित नेपाली दूतावासले ‘युके सिजनल भिसा मिति परिवर्तन बारेमा’ कुनै पनि आधिकारिक सूचना जारी नगरेको हुँदा उक्त झुट्टा सूचनालाई आधार मानी भिसा आवेदन नगर्न तथा नगराउन आग्रह गरेको छ । ‘यस सूचनालाई आधार मानी वैदेशिक रोजगारीका लागि पहल गरी ठगिएमा यस राजदूतावास जबाफदेही नहुने ब्यहोरा समेत जानकारी गराइन्छ’ दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ । दूतावासको नाम दुरुपयोग गरी कसले सूचना निकाल्यो भन्ने स्पष्ट नभइसके पनि सिजनल भिसामा कामदार पठाउने कुनै एजेन्ट वा कम्पनीले आफ्नो स्वार्थअनुसार दुरुपयोग गरेको आशङ्का दूतावासको छ । यस कार्यमा संलग्न समूहको पहिचान गरी आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकिएको लन्डनस्थित नेपाली दूतावासका द्वितीय सेक्रेटरी रामबाबु नेपालले जानकारी दिए । पछिल्लो समय सिजनल भिसा आवेदकलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । कतिपय एजेन्टहरूले वर्क परमिट दिलाउने तथा युरोपतर्फ जान पाउने जस्ता प्रलोभन देखाउने गरेको पाइएको छ । बेलायतमा विशेषगरि कृषि तथा पोल्टी क्षेत्रमा बढीमा ६ महिनासम्मको सिजनल भिसा (मौसमी भिसा) को लागि आवेदन दिन पाउने बेलायत सरकाको नियम रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्