झापा, पुष २२ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवगमन ७० प्रतिशतले बढेको छ।

गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्यामा ७०.१७ प्रतिशतले वृद्धि भएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ७ हजार ४ सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन् । चालु आर्थिक वर्षको साउनमा ३८५, भदौमा ६९०, असोजमा ६ हजार ७ सय ३१, कार्तिकमा १३ हजार १ सय ५८ र मंसिरमा ४ हजार ६५ जना भ्रमणकर्ता खुम्बु पुगेको निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकरी दिए । उनका अनुसार ५ महिनामा २१ हजार ८५३ जना विदेशी र ३ हजार १७६ जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । भ्रमण गर्ने विदेशी पर्यटकमध्ये १ हजार ९९० सार्क मुलुकका र १० हजार ८६३ अन्य मुलुकका रहेको निकुञ्जको तथ्यांक छ ।

निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट ५ महिनामा ३ करोड ५५ लाख ७७ हजार १७६ रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले विदेशी पर्यटकबाट प्रति पर्यटक ३ हजार रुपैयाँ प्रवेश शूल्क लिने गरेको छ भने सार्क मूलुकका नागरिकबाट १ हजार ५ सय र नेपाली पर्यटकबाट १०० रपैयाँ प्रवेश शुल्क लिने गरेको छ । २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज ११४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरू समेत रहेको छ । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्