झापा , पुष २२ । १३औँ पवित्रहाङमा कप खेलकुद प्रतियोगिता आगामी माघ २३ गतेबाट सुरु हुने भएको छ ।

file photo

किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सवको अवसरमा हरेक बर्ष माङ्सेबुङ गाउँपालिका-५ लारुम्बामा आयोजना हुँदै आएको प्रतियोगिता यस वर्षसमेत संचालन हुने भएको हो । धर्मगुरु आमाको ६७ औ जन्मोत्सवको अवसरमा आयोजना हुने प्रतियोगिताको मुख्य आकर्षणको रुपमा महिला गोल्डकप रहेको छ । जिल्लामा निरन्तरता पाएको एक मात्र महिला फुटबलको रुपमा पवित्रहाङमा कप रहेको छ । जहाँ विभिन्न टिमबाट राष्ट्रिय स्तरका प्रतिनिधित्व गरेका खेलाडीहरु समेत देख्न सकिन्छ । आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम , झापा, उदयपुर, सुनसरी, ताप्लेजुङ, धनकुटा, मोरङका साथै दार्जिलिङको टिमको समेत सहभागिता हुनेछ ।

८ टोलीले सहभागिता जनाउँदै आएको महिला फुटबलमा गत संस्करणबाट १० टोली बनाइएको थियो । प्रतियोगितामा इलामको माङ्सेबुङ गाउँपालिका र जनता सेभेन सहभागि हुँदैछन् । झापाबाट रोयल स्र्पोटिङ क्लब दमक र कन्काई नगर खेलकुद प्रतिष्ठान, सुनसरीको माउन्ट एभरेष्ट स्र्पोटिङ क्लब धरान, ताप्लेजुङको कणर्सिंह सोनाम एफसी, धनकुटा जिल्ला फुटबल संघ, मोरङको नवदिप युवा क्लब मिक्लाजुङ र पाहुना टोली भारतको एमएफसी दार्जिलिङले सहभागिता जनाउने छन् । आत्मानन्द रंगशालामा हुने प्रतियोगिताको बिजेताले २ लाख १६७ र उपविजेताले १ लाख १६७ प्राप्त गर्नेछन् । अघिल्लो संस्करणको तुलनामा आयोजकले पुरस्कार राशीमा समेत बृद्धि गरेका छन् । १२ औ संस्करणको बिजेता बनेको एपिएफसी माङसेबुङले १ लाख ११ हजार १६६ र उपविजेता माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले ६६ हजार १६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो । इलामको माङसेबुङमा पवित्रहाङमा महिला कप २०६७ यता हरेक वर्ष साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्