झापा, पुष २२ । झापाको बिर्तामोड १० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा निमावि तहसम्म पढाइ हुँदा १२ सय विद्यार्थी थिए । तर, अहिले कक्षा १२ सम्म मावि तहको पढाइ हुँदा विद्यार्थीको संख्या ४ सयमा झरेको छ ।

बिर्तामोड क्षेत्रकै देवी मावि, महेन्द्ररत्न मावि , मोहनमाया माविलगायतका अन्य विद्यालयमा विद्यार्थीको चाप बढिरहेका बेला महेन्द्र ज्योतिमा विद्यार्थी घट्दै गएपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विद्यालयको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागी वक्ताहरुले विद्यालयमा विद्यार्थीको संख्या घट्नु गंभीर समस्या भएको भन्दै त्यसको कारण पहिल्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा अधिकृत केशरबहादुर खवासले विद्यालयमा पढाइको स्तर सुधार्नुपर्ने जोड दिँदै त्रिपक्षीय सम्बन्ध मजबुद हुनुपर्ने बताए । उनले शिक्षकमा सकारात्मक सोच , अभिभावकको चासो र विद्यार्थीहरुको लगनशीलता भएमात्र विद्यालयको स्तर सुधार्न सकिने बताए । शिक्षा अधिकृत खवासले विद्यार्थीको संख्या दिन प्रतिदिन घट्दै जानु चिन्ताको विषय भएकाले त्यसतर्फ शिक्षक शिक्षिका र अभिभावकहरुलाई गंभीर बन्न आग्रह गरे । उनले विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेकोमा त्यसलाई बीचैमा छोड्नु उचित नभएको भन्दै त्यसलाई निरन्तरता दिन सुझाव दिए । कार्यक्रमका विशिष्ट अतिथि बिर्तामोड १० का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दुर्योधन गुरुङले महेन्द्र ज्योतिले शिक्षामा खासै फड्को मार्न नसकेको गुनासो गरे । उनले तालिम प्राप्त शिक्षक शिक्षिकाहरु भएपनि पढाइको स्तर किन उठ्न नसकेको भन्दै प्रश्न गरे । आफूले सोही विद्यालयमा २,३ र ४ कक्षा पढेको स्मरण गर्दै वडाध्यक्ष गुरुङले धेरैको योगदानले स्थापित पुरानो मावि महेन्द्र ज्योतिको साखलाई गिर्न दिन नहुने धारणा राखे ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर लिम्बूले प्रतिवेदन प्रस्तुत गर्दै कक्षा नर्सरीदेखि १२ सम्म चार सय जना विद्यार्थी रहेको बताए । उनले विद्यालयमा शिक्षक र कर्मचारीको संख्या २४ रहेको जानकारी दिए । उनले शहरी क्षेत्रका विद्यालयहरुमा विद्यार्थीहरु चाप बढिरहेपनि ग्रामीण क्षेत्रका खासगरी सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम भइरहेको समस्या सुनाए । विद्यार्थी संख्या घटेकै कारण शैक्षिक कार्यक्रमहरु ल्याउन नसकेको उनको भनाई छ ।

२०२३ सालको पौष महिनामा सखुवाको फेदमा १० जना विद्यार्थी भेला गरी महेन्द्र ज्योति प्राथमिक विद्यालय स्थापना गरिएको थियो । अहिले विद्यालयसंग आबश्यक भौतिक पूर्वाधार छ । ब्रिटीश वेलफेयर र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा दुईतले भवन छ भने भर्खरै राष्ट्रपति शैक्षिक कार्यक्रमबाट भवनकै लागि ४५ लाख रुपैयाँ विनियोजन भएको छ । त्यसैगरी वडा कार्यालयले पनि वर्षेनि सहयोग गर्दै आएको छ ।

सप्ताहब्यापी कार्यक्रम गरि विद्यालयले वार्षिकोत्सव मनाएको हो। विद्यालय व्यवस्थपन समितिका अध्यक्ष रामदर्शन गुरुङको अध्यक्षता तथा बिर्तामोड नगर शिक्षा अधिकृत खवासको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्यहरु धनकुमारी श्रेष्ठ, पृथ्वी बस्नेत,पूर्व प्र.अ. मखन गुरुङ, चमरधाप प्रा.बि. बिर्तामोड–१० का विद्यालय व्यवस्थापन समिति अध्यक्ष रिमानध्वज लोक्ताम, विद्यालय शान्तिधन अक्षय कोष दाता किरण सुब्बा, बिष्णु भगवती बोर्डिङका संचालक पुण्य उप्रेती, निवर्तमान वडा सदस्य गिता घिमिरे, पूर्व शिक्षकहरु, पूर्व शिक्षिकाहरु, शिक्षक अभिभावक संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा छठ समाज सेवा समिति बिर्तामोडले ५३ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको थियो । कार्यक्रममा बिर्तामोड छठ समाजका अध्यक्ष राजकुमार गुप्ता, निवर्तमान अध्यक्षहरु प्रेमचन्द्र चौधरी,देबेन्द्रकुमार सिंह,घनश्याम चौधरी, महासचिव मनोज रौनियार,बरुण चौधरी,अशोक चौधरी,बरिष्ठ उपाध्यक्ष रामेश्वर दुबे, सदस्य अनन्तलाल महतो, मनोज चौधरी, महिला फ्रन्ट अध्यक्ष हेमलता चौधरीको उपस्थिति रहेको थियो।

कार्यक्रममा शान्तिधन छात्रवृति १० जना विद्यार्थीलाई प्रदान गरिएको थियो । त्यसैगरी शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष यज्ञराज थापाले आफ्ना आमाबुबा दिपबहादुर र बिष्णुमाया थापाको स्मृतिमा दुई जना उत्कृष्ट विद्यार्थी रोशन मर्डी र ललिता अधिकारीलाई पुरस्कृत गरे ।
कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने किरण सुब्बा,पंचधन राई,प्रेमबहादुर लिम्बू,जयकुमार झा,सन्तोष शिवाकोटी ,वीरेन्द कडरिया, मेदनीप्रसाद उप्रेती , कुमारी मैनाली,शान्ता मुखिया, श्रीप्रसाद शिवाकोटी , डिल्लीराम अधिकारी,अमर कन्दङ्वा,गोपीकृष्ण भट्टराई,राजन प्रसाई र बिर्तामोड छठ समाजलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरुबीच प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम गरिएको थियो । रिमानध्वज लोक्ताम, पूर्व शिक्षक भोला पौड्यालले पनि शुभकामना मन्तब्य राखेको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्र.अ. जयकुमार झा र संचालन शिक्षक बिरेन्द्र कडरिया र शिक्षिका सरस्वती दाहाल खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्