झापा , पुष २३ । १४ वर्षीय बालिकालाई जबरजस्ती करणी, मानव बेचविखन र ओसारपसार अभियोजनमा कारागारमा रहेका ६ जना महिला तथा पुरूषले सफाइ पाएका छन् ।

जिल्ला न्यायाधीश निर्मला योङ्याको इजलासले बिहीबार अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिने फैसला गरेकी हुन् । फैसलासँगै जिल्ला कारागार ताप्लेजुङ र पाँचथरमा रहेकाहरु छुटेको कारागार शाखाले जनाएको छ । गत साउन २ र ३ गते फक्ताङलुङ-३ घर भइ सदरमुकाम फुङलिङ बस्दै आएका शर्मिला लिम्बू, कौशिला लिम्बू, फुङलिङ नगरपालिका-२ का लक्ष्मीप्रसाद अधिकारी, ९ का नेत्रबहादुर बस्नेत, ५ का नारायण लिम्बू र पाथीभरा याङवरक गाउँपालिका-३ का विमल तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । पुर्पक्षका लागि कारागार पठाइएका उनीहरुमध्ये पुरुषलाई ताप्लेजुङ र महिलालाई पाँचथर कारागार पठाइएको हो । ‘हामीले फैसला भएको २४ घण्टामा छोडिसक्नु पर्छ, बिहीबार बेलुका ७ र ८ बजे छोड्यौं,’ फिदिम कारागार प्रमुख सुरेन्द्र मुखियाले भने । घटना विवरण अनुसार गत असार अन्तिम साता सदरमुकाम फुङ्लिङको जिमिपोखरी टोलको एउटा पसलमा चोरी भएको थियो ।

एकजना बालकले गल्लाको पैसा निकालेर लगेको सीसी क्यामेरामा देखियो । क्यामेरामा कैद भएको त्यही भिडियोको आधारमा प्रहरीले ती बालकलाई सोधपुछका लागि नियन्त्रणमा लियो । सोधपुछका क्रममा भर्खर १४ वर्ष लाग्दै गरेकी बालिका पीडितको रुपमा जोडिइन् । बालकले चोरेको पैसाबाट खाजा खान आउने ती बालिकाले होटल सञ्चालकले राख्ने र यौनकर्ममा लगाउने सूचना प्रहरीलाई दिइन् । उनैले दिएको सूचनाको आधारमा होटल सञ्चालकसहित तीन दिनमा ६ जना पक्राउ परे र प्रहरीले उनीहरुलाई मुद्दा चलाइयो । पक्राउ पर्नेमा होटलका सेवाग्राहीको रुपमा ६० वर्षमाथिका वृद्ध पनि रहेको रहस्य खुल्यो । आफ्नी आमाको मृत्यु भएको र बाबुले कान्छीआमा ल्याएपछि घरमा बस्ने वातावरण नभएर होटलमा भाँडा माझ्दा होटल सञ्चालकले यौनकार्यमा लगाएको सूचना बालिकाले प्रहरीलाई दिएकी थिइन् । फैसलाको पूणर् पाठ आउन बाँकी रहेको अदालतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्