झापा, पुष २३ । घर बहाल संघ बिर्तामोडको बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

मेगा कम्प्लेक्सको सभाकक्षमा सम्पन्न साधारणसभाको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष राजकुमार पोखरेलले गरेका थिए ।कार्यक्रमको प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत रहेका थिए ।

सोही अवसरमा घर बहाल संघ बिर्तामोडको कार्यालयको विधिवत रुपमा उद्घाटन गरिएको छ । बिर्तामोडको मेगा कम्प्लेक्सको चौथो तलामा रहेको कार्यालयको प्रमुख अतिथि बस्नेतले विधिवत रुपमा उद्घाटन गरे । जहाँबाट संस्थाले आफ्नो दैनिक गतिविधि चाँडै सुरु गर्ने जनाइएको छ । संस्थाका सचिव शारदाप्रसाद थपलियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सुरेश बंशलले राखेका थिए । साधारण सभामा अध्यक्ष पोखरेल , सचिव थपलिया र कोषाध्यक्ष उर्मिला बिमली खरेलले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा मन्तव्यका क्रममा प्रमुख अतिथि बस्नेतले यो संस्थाले आफ्नो मात्र हकहित नसोचेर व्यवसायीहरु र समग्र बिर्तामोडकै हकहितको पक्षमा काम गर्ने पबित्र उद्धेश्यका साथ स्थापना भएकोले सफलताको शुभकामना र सहयोगको वचनवद्धता प्रकट गरेका थिए । त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले पनि शुभकामना मन्तव्य राखेका थिए ।

२०७६ साल साउन ५ गतेका दिन मेगा कम्प्लेक्समा बसेको बिर्तामोड नगरक्षेत्रमा व्यवसायिक घर बनाई व्यापारीलाई बहालमा लगाउने व्यवसायीहरु ( घरधनीहरु ) को भेलाले राजकुमार पोखरेलको अध्यक्षतामा घर बहाल संघको तदर्थ समिति गठन गरेको थियो । भेलाको निर्देशनबमोजिम बिर्तामोड नगरक्षेत्रलाई कार्यक्षेत्र बनाई जिल्ला प्रशासन कार्यालय झापामा २०७६ साल मंसिर ६ गतेका दिन बिधिवत रुपमा यस संस्था दर्ता भएको थियो ।

बिर्तामोडको ईतिहास नै महेन्द्र राजमार्ग निर्माणको क्रममा कार्यरत कर्मचारी र मजदुरलाई मध्यनजर गरेर खोलिएका चिया नास्ताका साना होटल र किराना दोकानहरुबाट सुरु भएको थियो । समय क्रमसंगै घरधनीहरुले घर बनाएर भाडामा लगाउने र व्यापारीले भाडामा लिएर व्यापार गर्न सुरु गरे । बिर्तामोड व्यापारिक केन्द्र बन्दै गयो । घरहरु धमाधम भाडा लगाउने प्रयोजनले निर्माण हुन सुरु भयो । यसरी आजको बिर्तामोड शहर तिनै घरधनीले बनाएको घरबाट बसेको हो भन्दा फरक नपर्ला ।

घरधनीहरुको लागि बिर्तामोडको भविष्य महत्वपूर्ण रहेको छ । कुनै समयमा धुलाबारी बजार गुलजार थियो । घरधनी धेरै खुशी देखिन्थे । व्यापार अन्यत्र सरेपछि व्यापारीले घर छोडेर हिंडे । घर खाली रहे । त्यस्तै अवस्था भोग्नु नपरोस् भनेर बिर्तामोडको व्यापारलाई संरक्षण र प्रबद्र्धन गर्ने मुख्य दायित्व पनि घरधनीहरुकै हो भन्ने बुझाई आफूहरुको रहेको अध्यक्ष पोखरेलले बताए । अर्कोतर्फ घरधनी र व्यवसायीबीच नङ र मासुको सम्बन्ध स्थापना गर्न जरुरी भएकाले सबै प्रकारका सरकारलाई यो पेशाको आवश्यकता र महत्वबारे बुझाउन जरुरी रहेको उनले बताए । सबै प्रकारका संघ संस्थासंग समन्वयकारी भूमिका पनि निर्वाह गर्नु पर्ने भन्दै उनले समग्रमा भन्नुपर्दा बिर्तामोडको हकहितको पक्षमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने दायित्व व्यापारिक प्रयोजनका लागि घर बहालमा लगाउने घरधनीहरुको पनि हुनु पर्ने देखिएको धारणा राखे । यसका लागि घरधनीहरु एउटै छातामुनि भेला हुन जरुरी रहेको यिनै कुरालाई ध्यानमा राखेर व्यापारिक प्रयोजनका लागि घर निर्माण गरी बहालमा लगाउने घरधनीहरुको पहलमा घर बहाल संघ बिर्तामोडको स्थापना गरिएको उनको भनाई छ ।हाल संघमा ३२ जना घरधनी आवद्ध रहेका छन् ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्रमा व्यवसायिक भवन बनाई व्यवसाय गर्ने व्यक्ति वा कम्पनीलाई बहालमा लगाउने व्यक्ति वा कम्पनीले संस्थाको विधान र यस संघले तोकेको प्रक्रिया पुरा गरी आवेदन गरेपछि सदस्यता प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्