कुमरखोद,पुष २३ । नेपाल रेडक्रस सोसाईटी कुमरखोद उपशाखाको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उपशाखाका सभापति सुन्दरलाल गणेशको अध्यक्षता तथा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह , विशिष्ट अतिथि रेडक्रसका झापा शाखा सभापति लोकराज ढकालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । रेडक्रस सोसाईटी झापा उपशाखाका सभापति सुन्दरलाल गणेशले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा एम्वुलेन्स खरिद प्रक्रिया अन्तिम चरण पुगेको उल्लेख छ । त्यस्तै संस्थाले केहि दिनपछि आँखा शिविर संचालन गर्ने जनाइएकोे छ ।
कुमरखोद उपशाखाका उप–कोषाध्यक्ष कल्पना खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा उप–कोषाध्यक्ष कलाम शेखले वार्षिक आय–व्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश नं १ का सभासद लखिकुमारी गणेश , वडा अध्यक्ष राजकुमार यादवलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सशस्त्र विओपी टाँघनडुब्बाका प्रहरी निरीक्षक सरोज कटुवाल, वडा सचिव नारायण चम्लागाई ,रामनारायण राजवंशी , राजकुमार कोच , प्रदिपकुमार गणेश उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पशुपतिलाल गणेशले गरेका थिए । त्यस अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमा १८ जना पुरुष र १ जना महिला गरी १९ जनाले रगत दान गरेका थिए । २०७२ सालमा जिल्ला रेडक्रस सोसाईटी झापा शाखाको सहयोगमा कुमरखोदमा रेडक्रस सोसाईटी उपशाखाको तदर्थ समिति गठन भएको थियो । स्थापनाको समयमा ३० जना सदस्यबाट शुरु गरिएको संस्थामा अहिले पुरुष ९१ र महिला ३६ गरी जम्मा १२७ जना आजीवन सदस्यहरु रहेका छन् ।