झापा, पुष २३ । प्रतिबन्धित लागूऔषध नियन्त्रणमा सक्रिय भएर लागेको झापा प्रहरीले फेरि तीनजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

शुक्रवार साँझ ७.४० बजे दमक नगरपालिका वडा नं.६ बसपार्क छेउ बाटोमा इलाका प्रहरी प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को ७ प ७८०५ नं. को मोटरसाईकलमा सवार मोरङ रतुवामाई नगरपालिका वडा नं.१ बस्ने ३० वर्षिय संजय महत्तो र सोही ठाउँ बस्ने २५ वर्षिय सुवर्ण यादवलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिवन्धित नाइट्राभेट १५० ट्याब्लेट फेला परेको थियो । मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

साथै शनिवार साँझ ५ बजे लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.१० सुगम टोल बस्ने अन्दाजी २८ वर्षिय दिपक राजवंशीको घरमा शंका लागेर घर खानतलासी गर्दा कोठाभित्र रहेको काठको र्याकभित्र १ ग्राम ब्राउनसुगर फेला परेकोले उनलाई समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्