झापा, पुष २४ । पत्रकारिता र कम्प्युटर विज्ञानको कक्षा पूर्वाञ्चल क्षेत्रमा सर्वप्रथम शुरु गरेको बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयले एमबीए र एमसीएका कक्षा सञ्चालन गरेको छ ।

गोमेन्द्रले साविक मेची अंचलमा पहिलो पटक एमबीए र एमसीएका कक्षा सञ्चालन गरेको हो । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्वन्धन प्राप्त यस महाविद्यालयले यस शैक्षिक सत्रका लागि ३३–३३ जनाको दरले दुईवटा फ्याकल्टीमा विद्यार्थी अध्ययन गराउने भएको हो । काठमाडौं र विराटनगरको दाँजोमा आधा शुल्कमा महाविद्यालयले स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न लागेको शनिवार पत्रकार सम्मेलनको आयोजना गरी महाविद्यालयका प्राचार्य डा. रुपक खनालले बताए । स्नातकोत्तर तहका लागि विभागीय प्रमुखमा प्रा.डा. पृथ्बी राईको नेतृत्व रहने जनाइएको छ ।
त्यस्तै एमवीएतर्फ विमल राजवंशी र एमसीएतर्फ सुनिल शर्माको संयोजकत्वमा कक्षा सञ्चालन हुने छन् ।महाविद्यालयमा पीएचडी तथा एमफिल गरेका प्राध्यापकहरुले अध्यापन गराउने बताइएको छ ।
२०५३ सालमा स्थापित गोमेन्द्रले शुरुका वर्ष उच्च माध्यमिक शिक्षा परिषद्बाट स्वीकृति लिई कक्षा ११ र १२ सञ्चालन गरेको थियो । त्यसपछि महाविद्यालयले २०५६ सालबाट विज्ञान तथा प्रविधि संकायतर्फ बीसीए र २०६२ सालबाट व्यवस्थापन संकायतर्फ बीबीएको पठनपाठन गराउँदै आएको छ । पत्रकार सम्मेलनमा महाविद्यालयका संस्थापक गणेशप्रसाद खनाल, वुध खनाल , सह प्राचार्य सरु खनाल, महाविद्यालयका शिक्षक शेखर पाण्डेलगायतको आतिथ्य रहेको थियो ।