झापा, पुष २४ । शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएपछि नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।

कार्कीले आज दिउँसोसम्म दाबी पेश गर्ने तयारी गरेका छन् । माओवादीले प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेपछि मुख्यमन्त्रीको दाबी पेश भएको थिएन ।

संविधानको धारा १६८ (२) बमोजिम २ वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङले आजसम्मको समयसीमा दिएका थिए । समयसीमा दाबी लिएर प्रदेश प्रमुखसमक्ष जाने एमालेले बताएको छ ।
मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्ताबेज तयार भइसकेको एमाले प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले जानकारी दिए। ‘सत्ता साझेदारी दलहरूको सहभागितामा दाबी पेश गरिन्छ, हामी त्यसको तयारीमा लागिरहेका छौ,’ उनले भने ।
माओवादीको औपचारिक निर्णय हुन बाँकी रहेपनि प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको जनाएको छ ।‘ हामीले दाबी गरेका हौँ ’ माओवादीका एक नेताले भने ‘प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने छ ।’

९३ सदस्यीय प्रदेशसभामध्ये ६० जना प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गर्ने एमालेको तयारी छ । एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी एमाले गठबन्धनसँग ६० सांसद् छन् । सरकार गठन गर्नका लागि ४७ जना आवश्यक पर्छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्