कोलोराडो । अमेरिकाको कोलोराडोमा एकजना नेपाली व्यवसायीलाई एक लुटेराले गोली हानी हत्या गरेको छ ।

आफ्नै पसलमा कार्यरत भेषराज लामिछानेको लुटेराले हत्या गरेको हो । हत्यारा अर्को राज्य इण्डियानाबाट पक्राउ परेको छ । कोलोराडो राज्यको ह्वीट रिजमा खुद्रा पसल संचालन गरेर बसेका लामिछानेलाई बिहीबार राति ८ बजेतिर लुटेराले गोली प्रहार गरेको थियो । समाचार अनुसार, लुटेराले सुरुमा पसलभित्र पसेर चिसो पेय पदार्थ खरिद गरेको थियो । सो पेय पदार्थ लिएर बाहिर निस्केको लुटेरा एकछिनपछि पुन फर्किएर अकस्मात् गोली प्रहार गरेको थियो । गोली प्रहारपछि बाहिर पार्किङमा राखेको लामिछानेको गाडी लिएर भागेको थियो । लामिछानेको पसलमा कुनै चालचुल नभएकोपछि एकजना व्यक्तिले प्रहरीलाई खवर गरेको थियो।

हत्यामा संलग्न व्यक्ति र उनले प्रयोग गरेको सवारी साधन
प्रहरी पुग्दा झण्डै ९ बजेको थियो । तनहुँ दमौली स्थायी घर भई सपरिवार कोलोराडो बस्दै आएका ५३ बर्षीय लामिछानेका श्रीमती, ३ छोरी र १ छोरा छन् । गाडी चोरेर भाग्ने क्रममा २०१५ मा बनेको निशान पाथ फाइण्डर गाडी दुर्घटनामा पर्दा इण्डियानामा शुक्रबार विहान साढे १० बजेतिर लुटेरा पक्राउ परेको हो । सडकमा धेरै स्पीडमा गाडी चलाएपछि इण्डियना प्रहरीले सो गाडीको पिछा गरेको थियो । प्रहरीले पिछा गरेको थाहा पाएपछि झन् स्पीड बढाएको हत्यारा गाडी अनियन्त्रित भई दुर्घटनामा परेपछि पक्राउ परेको हो । हत्या गरेर भागेको सो लुटेराको नाम शनाथन डिनगेलो चान्स रहेको र उसको उमेर २६ वर्षको भएको इण्डियानाको पक्राउ विवरणमा उल्लेख छ । हत्यारा नर्थ क्यारिलिनाबासी भएको प्रहरीको विवरणमा उल्लेख छ। कोलोराडोको नेपाली समुदाय यो घटनापछि शोकमा डुबेको छ । नेपालीहरुको संस्था नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालका अनुसार, यसअघि यसरी गोली प्रहार गरी नेपालीको हत्या भएको थिएन त्यसैले नेपाली समुदायका लागि यो पहिलो पीडादायी घटना हो। पीडितको अन्तिम संस्कार र परिवारका लागि भनेर नेपाली संस्थाहरुले गो फण्ड खोलेका छन् । अध्यक्ष ढकालले विपतको समयमा पीडित परिवारलाई सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्