मेरो छोरो महान रहेछ । मान्छे पिच्छे मृत्यु फरकफरक हुन्छ तर, एउटा स्वाभिमानी राष्ट्रवादी मान्छे मर्दा राष्ट्र, विश्व नै रुँदोरहेछ । मेरो छोराले आफ्नो छोरालाई जुन सन्देश दिएर गएको छ यसैले उसले अमरत्व प्राप्त गरेको छ । यो वाक्य बोलिरहँदा कुन बाबुको मन भारी भएन होला । र, कुन बाबु यसरी बोल्न सक्छ होला । आमाको मनको बह थाम्न कति गाह्रो भयो होला तर, पनि यो जीवनमा बाँच्नेले भोग्नै पर्ने । विपत्तिको सामना गर्ने पर्ने ।

एकाएक मध्यराति सामाजिक संजालमा भाईरल भनेको घटनाले कसको मन रोएन होला । आफ्नो मोवाईलमा जति स्क्रोलिङ गरे पनि बाबु , मेरो आँखाको नानी भनेका शव्दहरु दोहोरिरह्यो । जति सुन्यो, उति मन भारी भईनै रहयो । सबैले सामाजिक संजालभरि समवेदना दिएका छन् । दुःख प्रकट गरेका छन् । सान्त्वना प्रकट गरेका छन् । तर के गर्नु घटना घटिगयो सहानुभूति र सान्त्वना दिनुबाहेक अरु हामीले केही गर्न सकेनौ । कयौ प्रत्यक्षदर्शी भए होला त कतिले लाईभ हेरे होला, अवस्था हेर्नबाहेक अरु केही सहयोग गर्न नसक्दा हामी कति दुःखित बन्यौं ।

यो घटनामा एक बाबु मृत्युसंग लड्दा पनि सन्तानको भविष्यको बारेमा चिन्तित देखिएका छन् । अब आफू बाँच्दिन भनेर थाहा पाउँदा पाउँदै पनि परिवारको सम्झनामा तडपेका निराकार तिमी महान छौ । तिम्रो साहस अनि मृत्युसंग लडने तिम्रो हिम्मतप्रति सारा नेपालीले सलाम गरेका छन् । ५ घण्टासम्म तिमीले बाँच्ने प्रयास गर्यौ , मृत्युसंग तिमी लड्यौ परिवार आफन्त सबैलाई सम्झियौ त्यो आँट सबै नेपालीसंग नहुन सक्छ । अब कुनै हालतमा पनि बाँच्दिन भन्ने हेक्का भएपछि , होटलभित्र जलेर खरानी हुनुभन्दा १२औं तलाबाट हामफाल्न तयार हुनु तिम्रो साहस अनुकरणीय छ । मृत्युपरन्त पनि आफ्नो लास नेपाल घरमा पुगोस् भन्ने अन्तिम इच्छा यो अवश्य पुरा भएको छ । म झापा बिर्तामोडबासी हुँदा ती शव्द हामी बिर्तामोडबासीको कानमा कति गुन्जियो भने सारा नेपालीले ती तिम्रा वाक्यहरुलाई सम्झेका छन् । जब घटना सार्वजनिक भयो, अनलाईन खवरहरुमा तिमी हेडलाईन बन्यौ । मानिसको मृत्यु हुन्छ नै, यो तितो सत्यलाई हामीले स्वीकार्नै पर्छ तर, तिम्रो मृत्युमा कसको मन नरोएको होला र । १२औ तलामा झ्यालमा बसेको दृश्य , बाँच्छु कि भन्ने आशा तिमीमा कति थियो होला । फाइभस्टार होटलमा कसले कल्पना गरेको हुन्छ होला मृत्यु हुन सक्छ भनेर । जीवनको अन्तिम क्षणमा तिमीले सम्झेका ती आफन्तहरुको मन कति रोयोे होला । कति सपना थियो होला । म यो लेख लेखिरहँदा कल्पना गर्दछु । मेरो मन भारी भएको छ । मस्तिष्कमा निराकारको बोली गुन्जिरहेको छ । अनि सोच्दैछु परिवारको पीडा ।

दाजु मेरो लास नेपाल पठाईदिनु है भनेको सन्देश धेरै मिडियामा गुन्जियो । नेपाल नै उनको लासको पर्खाईमा छ । हामी झापाली पनि सरकारसंग अनुरोध गर्दछौ – चाँडोभन्दा चाँडो लास नेपाल ल्याईयोस् । हामी सासमा विश्वास गर्ने जात आज लाचार भएर लासको पर्खाइमा बसिरहेका छौ । आकारविहीन भएका निराकार मन र मस्तिष्कमा सँधै बसिरहने छन् ।

हाम्रो जन्म ,मृत्यु हुनको लागि हो भनेर भन्ने गरिन्छ । जन्ममा हामी असाध्यै खुसी हुन्छौ भने मृत्युमा दुःखी बन्छौ । जन्म र मृत्युको बीचलाई हामी जीवन भन्ने गर्छौ । यहि बीचमा हाम्रो संसार चलेको हुन्छ । जन्मपछि मानिस समयक्रम अनुसार शारीरिक विकास र मानसिक विकास हँुदै जान्छ । बालापन , बयस्क र वृद्घ हामी मनुष्य जातिको तीन तहको जीवनचक्र हो । जीवन जिउने क्रममा हामी संघर्षरत रहने गर्दछौ । परिवारको छहारी कसलाई पो राम्रो लाग्दैन होला तर पनि, जीवनलाई जिउन , सन्तानको सुखको लागि भनेर विदेशिनु आज हरेक युवाको पीडा बन्दै गएको छ ।

आफ्ना सन्तानलाई सुख सयलमा राख्न , राम्रो शिक्षा दिक्षा दिन कुन अभिभावकले चाहदैन होला । सन्तानको सुखमा आफ्नो खुसी खोज्न दैनिकजसो कयौ अभिभावक विदेशिन बाध्य छन् । जीवनसाथीको ममता सन्तानको माया मुटुमा दबाएर भए पनि परिवारलाई खुसी दिन विदेशिनु बाध्य भएको हाम्रो समाजमा कयौ बाकसमा फर्कने गरेका छन् भने कयौ विलय भएका घटना छ । नेपालको अवस्था हेर्ने हो भने किन पो नेपाल बस्नु भन्ने रहेको छ । राजनीतिक अस्थिरता , नातावाद कृपावादले गाँजेको राजनीति । उधारो व्यापार व्यवसायको अवस्था । बैंकको लगानी, आफन्तको साथ स्वदेशमा बस्नुभन्दा विदेश जानलाई नै प्रोत्साहन गर्दछन् । अनि यी यस्तै घटना दोहोरिरहन्छ । त्यसैले हाम्रो विदेशी मोह त्यागौं । हरेक नेपालीले स्वदेशमा नै बस्ने वातावरण बनोस् । निराकार त अब रहेनन् सासको जीवनमा लासको आशमा नबसौ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्