बिर्तामोड , पुष २४ । बिर्तामोड नगर प्रहरीले नियन्त्रणमा लिएको मरेका माछा आइतवार खाल्डो खनेर पुरिएको छ ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका र मागुर माछा विक्री वितरणमा पूर्णरुपमा रोक लगाएको भएपनि लुकिछिपी बिक्री वितरण भईरहेको भन्ने सुराकीका आधारमा नगर प्रहरीले शुक्रवार पश्चिम स्टेण्ड नजिकैबाट पंघास र रुपचन जातका करिब ३५ किलो माछा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका माछालाई नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र स्थानीय माछा उत्पादक कृषकको उपस्थितिमा खाल्डो खनेर पुरिएको हो । बिर्तामोड नगरपालिकाले जनताको स्वास्थ्यलाई हानि गर्ने विषादी हालिएका मरेका माछा बिक्री वितरणमा रोक लगाएको छ ।

नगर उपप्रमुख संग्रौलाले फर्मालिन हालिएका मानव स्वास्थ्यलाई असर गर्ने माछा अवैध ढंगले ओसारपसारमा संलग्न व्यवसायी र त्यसमा संलग्नहरु पक्राउ परेको खण्डमा ऐनअनुसार कार्वाही गर्ने बताए । यस प्रकारका माछा बिर्तामोडको स्थानीय बजारमा बिक्री वितरण गर्न नपाउने भन्दै उनले सूचनालाई बेवास्ता गर्ने जोकोहिलाई कार्वाही गर्ने चेतावनी दिए । बिर्तामोडको कुनै पनि क्षेत्रमा मरेका माछा बिक्री वितरण गरेको पाइएमा सूचना दिन नगरपालिकाले सबैलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्