झापा , पुष २५ । विद्युतीय माध्यम सम्बद्ध ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भारत दार्जिलिङ ठेगाना भएका ४० वर्षीय मोहम्मद हाकिम र झापा मेचीनगर नगरपालिका-८ बस्ने ३७ वर्षीया बिममाया मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको फेसबुक म्यासेन्जरमा आफू सिरियामा कार्यरत अमेरिकन आर्मी हुँ भन्दै प्रलोभनमा पारी डलर र उपहार पठाई दिएको छु रिसिभ गर्नुहोला भनी उपहार पठाएको जस्तो भान पर्ने गरी सो को भर्पाई पठाएको र पीडितले रकम आवश्यक छैन भन्दा उल्टै मनी लन्ड्रिङमा फस्नु भइसक्यो भन्ने धम्की दिएको बताइएको छ । यदि सोबाट छुटकारा पाउन चाहनुहुन्छ भने तपाईँको वाट्सएप नम्बरमा आएको बैङ्क खातामा रकम जम्मा गरिदिनु भनी डर त्रासमा पारी विभिन्न मिति र समयमा अनलाइन मोबाइल बैङ्किङमार्फत विभिन्न बैङ्क खाताहरूमा पटक-पटक रकम पठाउन लगाएको उनीहरूमाथि आरोप छ । उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी, अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्