एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोलसोनारोका समर्थकले त्यहाँको संसद् भवन‚ राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका छन् ।

ब्राजिलको संसद्‌मा आइतबार दक्षिणपन्थी नेता एवं पूर्वराष्ट्रपति बोलसोनारोका समर्थकले संसद्‚ राष्ट्रपति भवन र सर्वोच्च अदालतको भवनमा आक्रमण गरेका हुन् । ब्राजिलको राष्ट्रिय फुटबल टिमको जर्सीमा आएका हजारौं प्रदर्शनकारीहरू झन्डा बोकेर संसद् भवनभित्र पसेका थिए । केही प्रदर्शनकारीले संसद् भवनभित्र रहेको सभामुखको आसनकक्षसम्मै पुगेर तोडफोड गरेको बीबीसीले उल्लेख गरेको छ । ब्राजिलियन राष्ट्रपति लुला डा सिल्भाले उक्त आक्रमणलाई फाँसीवादी आक्रमणको संज्ञा दिएका छन् । आइतबार भएको आक्रमणलाई लिएर विभिन्न किसिमका टीकाटिप्पणीहरू भइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प‚ क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रडो र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससहित विभिन्न देशका शीर्ष नेताहरूले ब्राजिलमा भइरहेको हमलाको निन्दा गरेका छन् ।

यसै क्रममा ब्राजिलका नवनिर्वाचित राष्ट्रपति शिल्भाले पूर्वराष्ट्रपतिका समर्थकहरूलाई कडा कारबाही गर्ने बताएका छन् । उनले ट्विटरमा लेखेका छन्‚ ‘हामी सरकार गठनका लागि जुटिरहेका छौं तर उनीहरूले हाम्रो मौनताको फाइदा उठाए । सबैलाई थाहा छ यस्तो (हिंसात्मक) कार्य गर्न उक्साउने किसिमका भाषण पूर्वराष्ट्रपतिले धेरै गरिसकेका छन् ।’ ब्राजिलका सञ्चारमन्त्री पालो पिमेन्ताले राष्ट्रपति भवनमा राखिएका हतियार प्रदर्शनकारीले लगेको दाबी गरेका छन् । ट्विटरमा एउटा भिडियो पोस्ट गर्दै उनले आफूहरू इन्स्टिच्युसनल सेक्युरिटी अफिसभित्र रहेको र यहाँ रहेका घातक र गैरघातक हतियारहरू प्रदर्शनकारीले लगेको दाबी गरेका हुन् । कति हतियार चोरी भएको थियो भन्नेबारे सरकारले सार्वजनिक रुपमा उल्लेख गरेको भने छैन । हालसम्म २०० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइसकिएको ब्राजिलका कानुनमन्त्री फ्लेभियो डिनोले बताएका छन् । बोलसोनारो गत वर्ष अक्टुबरमा भएको राष्ट्रपतिको निर्वाचनको नतिजा स्वीकार गर्न मानिरहेका छैनन् । उनी गत साता नवनिर्वाचित राष्ट्रपति लुला डा सिल्भाको शपथ ग्रहण समारोहमा पनि सहभागी भएका थिएनन् । राष्ट्रपति निर्वाचनको नतिजा निष्पक्ष नभएको भन्दै बोलसोनारो समर्थकले बारम्बार हिंसात्मक प्रदर्शन गर्दै आएका छन् । पूर्वराष्ट्रपति बोलसोनारोले भने आइतबार भएको हिंसाको निन्दा गरेका छन् । उनी अहिले अमेरिकामा रहेका छन् । राष्ट्रपतिको निर्वाचनमा ५० दशमलव ९ प्रतिशत मतका साथ लुला निर्वाचित भएका थिए भने बोल्सोनारोले ४९ दशमलव १ प्रतिशत मत प्राप्त गरेका थिए । अपेक्षा गरिएको भन्दा तीव्र प्रतिस्पर्धात्मक चुनावमा वामपन्थी नेता ७७ वर्षीय लुलाले दक्षिणपन्थी बोल्सोनारोलाई पराजित गरेका थिए ।

लुलाको पुनरागमन
लुलाको जितलाई उनको राजनीतिक पुनरागमनको रुपमा लिइएको छ । सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुला सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल परेका थिए । उनलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो । ५ सय दिनभन्दा बढी समय जेलमा बिताएपछि अदातलले उनलाई रिहा गर्दै प्रतिबन्ध खारेज गरेको थियो । लुलाको कार्यकालमा ब्राजिलले तीव्र गतिमा आर्थिक वृद्धि गरेको थियो भने उनको समाजकल्याणसम्बन्धी योजनाका कारण दशौं लाख मानिसले गरिबीबाट छुटाकारा पाएका थिए । लगातार दुई कार्यकाल मात्रै राष्ट्रपति हुने पाउने व्यवस्थाको कारण सन् २०१० मा लुलाले राष्ट्रपतिबाट बाहिरिँदा उनको लोकप्रियता उच्च रहेको थियो । अर्कोतर्फ ब्राजिलका ट्रम्प भनेर चिनिने बोल्सानारोमाथि कोभिड १९ को महामारीको व्यवस्थापन राम्रोसँग गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो । बोल्सोनारोको लिएको नीतिको कारण धेरै ब्राजिलियालीहरुले ज्यान गुमाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्