झापा, पुष २५ । सहकारी संस्थाहरुले आफैले आफैलाई समस्यामा पारिरहेको सहकारीकर्मीले स्वीकार गरेका छन् ।

खासगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु पैसामुखी बनेर आफैले समस्या सिर्जना गरेको उनीहरुको ठम्याई छ । बचत तथा ऋण सहकारी संघ लि. झापाको एघारौं वार्षिक साधारणसभाका सहभागी वक्ताहरुले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु नसच्चिए अझ समस्यामा पर्ने चेतावनी दिएका छन् ।

कार्यक्रममा बोल्दै झापा जिल्ला सहकारी संघका सुपरीवेक्षण समितिका संयोजक चुडामणि ओझाले बैंकको जस्तो शाखा खोल्ने , राम्रा राम्रा भवन खरिद गर्नेजस्ता गलत क्रियाकलाप गरेर सहकारीका संचालकहरु बैंकर्स बन्न खोज्दा डुबेको बताए । उनले बैंकहरुले ५ प्रतिशत डिपोजिट राष्ट्र बैंकमा बुझाएर केही सुरक्षित बनेकोेमा सहकारीहरु आर्थिक तरलतामा शतप्रतिशत असुरक्षित रहेको दावी गरे । उनले ५ प्रतिशत रकम मुद्यतिमा राख्न आग्रह गर्दै तरलता कोषको व्यवस्था गर्नसमेत आग्रह गरे । ‘प्लान अफ एक्सन तयार गरौं अनि मात्र आर्थिक संकटबाट पार पाउन सक्छौं’उनले भने,‘समस्यालाई सिर्जनामा थाल्ने आयाम शुरु गरौं’

कार्यक्रममा बोल्दै बचत तथा ऋण सहकारी संघ मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले सहकारीहरु नीति , विधि र प्रविधि अनुसार चल्न नसक्दा दृष्टिकोणप्रतिको विमुखताले नै समस्या उत्पन्न गराएको बताए । उनले केही सहकारीका कारण समग्र सहकारीहरुलाई नै मार परिरहेको बताउँदै सहकारीहरु पैसामुखी होइन, समुदायमुखी हुनुपर्नेमा जोड दिए । बाह्य ऋण लिएर धेरै वासलात बनाउने , शाखा खोल्न होडवाजी गर्ने , पैसाको कम्पिटीसनमा जाने हो भने सहकारीहरुको अस्तित्व नरहने उनले चेतावनी दिए । सहकारीहरुले सेवाकेन्द्र खोल्न पाउने प्रावधान रहेपनि शाखा खोल्ने प्रावधान नरहेको स्पष्ट पारे ।

कार्यक्रमका प्रमुख अतिथि कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आर्थिक कारोबार मात्र गर्ने सहकारीहरुसंग स्थानीय सरकारले सहकार्य गर्न नसक्ने बताए । उनले सहकारीका सदस्यहरुलाई संस्थागत रुपमा बलियो बनाउन आबश्यक भएकोमा जोड दिए । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेले कार्यक्रमको अध्यक्षता गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रदेश नं १ का संचालक महेन्द्र गिरी , सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशीलगायतको आतिथ्यता रहेको थियो । संघकी महिला उपाध्यक्ष चन्द्रकुमारी भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव यामकुमार चुँडालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्