एजेन्सी । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन । ‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिने निर्णय  लिएको छु । यो निकै कठिन निर्णय  हो,’ लोरिसले भनेका छन् । लोरिस फ्रान्सको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन । लोरिसले २०१२ देखी फ्रान्सको कप्तानी सम्हाल्दै आएका थिए । उनको कप्तानीमा फ्रान्सले कतार विश्वकप २०२२ को फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको थियो । फ्रान्सले लोरिसकै कप्तानीमा सन् २०१८ को रुस विश्वकप जितेको थियो भने उनकै कप्तानीमा २०१६ मा घरेलु मैदानमा भएको युरोपियन च्याम्पियनसिपमा फ्रान्स उपविजेता भएको हो । इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमका कप्तान लोरिसले फ्रान्सबाट तीन विश्वकपसहित ६ प्रमुख प्रतियोगिता खेले । लोरिसले सन् २००८ नोभेम्बरमा उरुग्वेविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्