बिर्तामोड, पुष २६ । असहाय तथा विपन्न नागरिकहरुको सामाजिक सुरक्षामा सहयोग गर्ने उद्देश्यले बिर्तामोडमा विपन्न नागरिक सहयोग कोष नामक सामाजिक संस्था स्थापना गरिएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. ४ मा कार्यालय रहनेगरी सोही वडाबासीको अग्रसरतामा बिर्तामोड नगरलाई कार्यक्षेत्र बनाएर सेवा गर्नेगरी संस्था स्थापना भएको हो । संस्थाको प्रारम्भिक खाका बनाई तदर्थ समिति गठन गरिएको र दर्ता प्रयोजनका लागि विधान लेखन कार्य भइरहेको महासचिव केशवकुमार श्रेष्ठले बताएका छन् ।

कोषको मजवुतीका लागि शुभेच्छुकहरुले स्वेच्छिक रुपमा आर्थिक सहयोग प्रदान गर्न थालेका छन् । बिर्तामोड वडा नं. ४ का कान्द्रु माझीकी श्रीमती क्यान्सरबाट थलिएपछि उनको उपचारका लागि सहयोग जुटाउने क्रममा यस्तो कोषको परिकल्पना गरिएको संयोजक भक्तिप्रसाद तिवारी (विदुर)को भनाई छ ।

कोषका परिकल्पनाकार बिर्तामोड नगरपालिकाका निवृत्त अधिकृत देवराज कार्कीले हरेक सामाजिक व्यक्तिले आफ्नो जन्मदिनमा दिनको १ रुपैयाँका दरले कोषमा सहयोग रकम उपलब्ध गराएमात्र पनि लक्ष्य हासिल गर्न सकिने बताएका छन् । मंगलवार पुष २६ गते ५८ वर्ष पूरा गरेका कार्कीले दिनको १ रुपैयाँका दरले हुन आउने २१ हजार १७० रुपैयाँ कोषलाई प्रदान गरेर आफ्नो प्रतिबद्धता पूरा गरेका छन् । उनले समाजको हित र उन्नतिका लागि योगदान गर्नेहरुले नै अमरत्व प्राप्त गर्ने भन्दै सानो– सानो सहयोगबाट पनि ठूला अभियानहरु पूरा गर्न सकिने भएकाले मन नखुम्च्याई कोषवृद्धिमा लाग्न अनुरोध गरे ।
कोषका सल्लाहकारसमेत रहेका कार्कीको जन्मदिन मनाउन कोषले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष अर्जुन खरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

जन्मदिनको अवसरमा कार्कीलाई शुभकामना व्यक्त गर्दै कोषका अर्का सल्लाहकार पत्रकार गोपाल काफ्लेले सामाजिक काम गर्न स्थापना गरिएको यस्तो रचनात्मक अभियानले सार्थकता पाउनु पर्ने बताए । उनले मंगलवार नै आफ्ना बुवा लक्ष्मीप्रसाद काफ्लेको देहावसानको मिति पनि परेकाले उनको स्मृतिमा कोषलाई एक हजार रुपैयाँ प्रदान गरे ।

कोषको लक्ष्य हासिल गर्न हालै बिर्तामोड ३ का युवा व्यवसायी, नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सचिव अफरोज खानले पनि आफ्नो जन्मदिनमा ५ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ । यस्तै कोषका सदस्य सीमा सिलवाल ढुंगानाले पनि आफ्नी २ वर्ष पूरा गरेकी नातिनीको जन्मदिनमा कोषमा ७३० रुपैयाँ जम्मा गरेको महासचिव श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्