झापा, पुष २७ । झापाको अर्जुनधारामा खाना नपकाएको निहुँमा श्रीमान्ले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् ।

भोजपुर जिल्ला अरुण गाउँपालिका– १ घर भई हाल झापा अर्जुनधारा नगरपालिका– ९ स्थित खरबानीचोक बस्दै आएका ३५ वर्षिय विश्वराज घिसिङले मंगलबार साँझ साढे ७ बजे आफ्नी कान्छी श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङलाई कुटपिट गरी हत्या गरेका हुन् ।

मादकपदार्थ सेवन गरी आएका विश्वराजले श्रीमती प्रमिलाको पेट र छातीमा लात्तीले हान्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए । घर बनाउने मिस्त्रीको काम गर्दै आएका विश्वराजले आफ्नो घरमा उपचारका लागि भोजपुरबाट आमासमेत आएको भन्दै मासु लिएर घर जाँदा श्रीमतीले विहानदेखिको भाँडा नमाझेको र बेलुकाको खाना पनि नपकाएको निहुँमा कुटपिट गरेको प्रहरीले जनाएको छ ।

घटना भएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले विश्वराजलाई पक्राउ गरेको छ । उनलाई आवश्यक कारवाहीका लागि बिर्तामोडमा राखिएको छ । विश्वराजको पहाडमा जेठी श्रीमती र दुई छोराछोरी रहेका छन् भने मृतक प्रमिलाको पनि पहिलाको श्रीमानको एक छोरा र एक छोरी छन् । अहिलेको श्रीमानको तर्फबाट आठ बर्षीया छोरी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्