भद्रपुर, पुष २७ । ३ सय ५० जना क्षमता भएको झापा कारागारमा एक हजारबढी कैदीबन्दी खाँदिएर राखिएको पुरूष कैदीबन्दी गृहभित्र जति असहजता छ, त्योभन्दा बढी असहज बसाई आसपासका बासिन्दाको बन्ने गरेको छ ।

कैदीबन्दीबाट उत्पन्न हुने फोहोरजन्य पानी तथा दिसापिसाव व्यवस्थापनको निकास दिने ढल सहज नभएका कारण पूर्वपट्टि रहेका दुई दर्जनबढी घरपरिवार प्रत्यक्ष असर व्यहोर्न बाध्य छन् ।
कारागारको फोहोर पानी बग्ने ढलको उचित प्रवन्ध नभएका कारण त्यहाँबाट दैनिक उत्पादित हजारौं लिटर फोहोर पानी पूर्वपट्टि पसेर बस्तीलाई असर गरिरहेको छ ।

दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर उचित व्यवस्थापनको माग गर्दै आएका पीडित स्थानीयले न्यायोचित समाधानको बाटो नपाएको गुनासो गरिरहेका छन् ।
२०६२ सालयता नेतृत्वमा पुगेका सबै सरकार प्रमुखसंग स्थानीय बासिन्दाले कारागारको फोहोर पानीको व्यवस्थापनका लागि सहज निकासको माग राखेर पटकपटक ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको भएपनि समस्या हल हुन सकेको छैन ।
कारागारको फोहोरले झापाको सदरमुकाम आसपासका नागरिकको स्वास्थ्यप्रति नकारात्मक असर गरिरहेको छ ।

कारागारबाट उत्पन्न हुने दिसाजन्य फोहोर पानीलाई व्यवस्थापन गर्न कारागार प्रशासनले दुई वर्ष अगाडि उत्तरपट्टि एउटा शोष ट्यांकी निर्माण गरेको छ । तर, सो ट्यांकीले मात्र फोहोर पानी रोक्न नसकेकोले पूर्वपट्टिको बस्तीमा पानी पसेर डुबानको समस्या घटेको छैन ।
स्थानीय बासिन्दा दुर्गाबहादुर खड्का सहजै बग्ने ढल निर्माण नभएसम्म फोहोर पानीका कारण उत्पन्न समस्या हल नहुने बताउँछन् ।

शौचालयको शौच मिसिएको पानी केही हदसम्म रोकिएपनि कारागारको फोहोरले स्थानीयलाई सताउन नछाडेको पीडित कविता नेपालको भनाइ छ ।
समस्यै समस्याको भूमरीमा झापा कारागार जकडिएको छ । कतै स्थानीयको समस्या त कतै कैदीबन्दीको पीडा भएर झापा कारागार समस्याको भूमरीमा परिरहेको भएपनि सरकारी संयन्त्रले समस्या हल गरी सुधारको बाटोमा लैजान सकेको छैन ।
सदरमुकाम समेत रहेको नेपालकै पुरानो नगर भद्रपुर नगरपालिकाभित्र रहेको जिल्ला कारागार झापाबाट उत्पन्न हुने फोहोरको व्यवस्थापन गर्न पीडित स्थानीय बासिन्दाले स्थानीय सरकारदेखि संघीय सरकारसम्म दबाब दिँदै आएका भएपनि जिम्मेवार निकायले सुनुवाइ नगर्दा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन ।
स्थानीयको जनजीवन दिसाजन्य वस्तुबाट उत्पन्न विभिन्न सरुवा रोग र प्रदूषणले कष्टकर बन्दै गएको गुनासो गरिरहेका छन् ।

कारागारबाट दैनिक पाँच हजार लिटर फोहोर पानी निस्कने गरेको छ । यसैगरी मलमूत्रको हिसाब नै नभएको स्वीकार गर्ने कारागार प्रशासनले उचित पहल नगरेको पीडित स्थानीय नागरिकको गुनासो छ । कुनै पनि किसिमको फोहोर व्यवस्थापन हुन उचित संरचना बन्नु पर्ने माग स्थानीय समुदायले गर्न थालेको २० वर्ष बितिसक्यो । यस अवधिमा कारागारको उत्तरतिर एउटा शोष ट्यांकी त निर्माण भयो तर पनि, बस्तीतिर बग्ने फोहोर पानी रोकिएको छैन ।

जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसंँग हारगुहार गर्दा पनि केही नलागेको पीडित स्थानीय भिष्मराज भट्टराईले गुनासो पोखे । उनका अनुसार भद्रपुर नगरपालिका खुला दिसामुक्त कसरी भयो ? कारागारको मलमुत्र पूर्वपट्टिको बस्ती तथा खेतवारीमा छरपष्ट हुने गरेको छ । के खुला दिसामुक्त यही हो ? भट्टराई प्रतिप्रश्न गर्ने गर्र्छन् ।
कारागार आसपास क्षेत्रमा फोहोर पानी र दिसाजन्य फोहोर बढी दुर्गन्ध भएर हिउँदमा निकै फैलिने गरेको छ । कारागारभित्रको फोहार पानी त्यहीँ वरिपरि बग्ने भएकोले सँधै दुर्गन्ध र फोहोरसंँग बस्नु पर्ने बाध्यता रहेकोले स्वास्थ्यमा समस्या आउने गरेको पीडितहरूको दुखेसो छ । उनीहरूका अनुसार सो क्षेत्रमा फोहोरका कारण खेतीबाली लगाउन सक्ने अवस्था अझैसम्म नरहँदा बिघौं जमिन बाँझिएको वर्षौं भएको छ ।
स्वच्छ वातावरणमा जीवनयापन गर्ने आफूहरुको अधिकारलाई जिल्ला कारागारबाट निस्कने फोहोरले अतिक्रमण गरेको भन्दै पीडितहरू यसलाई समयमै ध्यान दिएर जिम्मेवार निकायले रोक्न नसकेको आरोप लगाउँछन् । नागरिकको जीवन संकटमा पार्ने दिसाजन्य फोहोर व्यवस्थापन नगरी स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार हनन् भइरहने पीडित स्थानीयको आरोप छ ।

कारागार प्रशासन भने अस्थायी समाधानका लागि केही काम गरिएको भएपनि स्थायी समाधानका लागि समय लाग्ने भन्दै आफ्नो बचाउ गर्ने गरेको छ ।
भद्रपुर नगरपालिका ९ नम्बर वडामा रहेको जिल्ला कारागारबाट उत्पन्न हुने फोहोरजन्य पानी तथा दिसापिसाव व्यवस्थापनका लागि निकास दिने ढल नभएका कारण दुई दर्जनबढी घरपरिवार प्रत्यक्ष डुबानमा परेको भएपनि कारागारको फोहोरजन्य पानीको अस्तव्यस्तताले झापाको सदरमुकाम आसपासका नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर परिरहेकोे छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्